कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले वडा, पालिका, क्षेत्र र जिल्ला तहको अधिवेशन सम्पन्न गरेपछि प्रदेश अधिवेशनको तयारीलाई तीव्र बनाएको छ। निर्वाचन समितिले बनाएको संशोधित कार्यतालिकाअनुसार ५ मंसिरबाट विभिन्न प्रदेशमा अधिवेशन हुनेछन्।
यसअघि ४ मंसिरमा सातै प्रदेशको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो। तर सो दिन हरिबोधनी एकादशी परेकाले कार्यतालिका परिमार्जन गरी एक दिन पछि सारिएको निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जानकारी दिए।
संशोधित तालिकाअनुसार प्रदेशगत अधिवेशनको मिति यस्तो छ :
५ र ६ मंसिर — गण्डकी प्रदेश
७ र ८ मंसिर — लुम्बिनी प्रदेश
१० र ११ मंसिर — बागमती प्रदेश
१५ र १६ मंसिर — सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश
१७ र १८ मंसिर — कोशी प्रदेश
मधेश प्रदेशमा भने प्रदेश अधिवेशनको मिति तोकिएको छैन। त्यहाँ क्षेत्रीय अधिवेशन नै बाँकी रहेकाले प्रदेश अधिवेशनको तिथि तय गर्न नसकिएको समितिले जनाएको छ।
१ सय ३४ क्षेत्रको अधिवेशन सम्पन्न
संयोजक पोखरेलका अनुसार हालसम्म १ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको छ। मधेशका आठ जिल्लामध्ये धनुषाका चार निर्वाचन क्षेत्रमा मात्रै अधिवेशन सम्पन्न भएको छ भने बाँकी सात जिल्लाको क्षेत्रीय अधिवेशन गर्न बाँकी छ। यसैगरी मनाङ, मुस्ताङ र रसुवाको अधिवेशन पनि बाँकी रहेको उनले बताए।
मधेशमा केन्द्रीय प्रतिनिधि र जिल्ला संयोजक तोक्न ढिलाइ हुँदा क्षेत्रीय अधिवेशन पछि धकेलिएको पोखरेलको भनाइ छ। केन्द्रीय महाधिवेशनका मतदाता प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाटै तोकिने भएकाले यसलाई जिल्ला र प्रदेश अधिवेशनभन्दा बढी महत्त्व दिइएको छ।
पोखरेलले तोकिएकै मितिमा अधिवेशन गर्ने योजना रहेको र अन्तिम समयमा एक–दुई दिन तलमाथि हुन सक्ने बताए। १८ मंसिरभित्र सबै प्रदेशको अधिवेशन सकेर प्रतिनिधिहरू काठमाडौं आउने तयारी भइरहेको र बाँकी क्षेत्रीय अधिवेशन पनि केही दिनभित्रै सकिने उनको भनाइ छ।
उद्घाटन खुलामञ्च, बन्दसत्र भृकुटीमण्डपमा
२१–२४ मंसिरमा हुने समानान्तर केन्द्रीय महाधिवेशनको उद्घाटन देउवाले खुलामञ्चमा गर्ने, बन्दसत्रका सबै सेसन भृकुटीमण्डपमा र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा गर्ने तय भएको एक नेताले जानकारी दिए।
यसअघि संस्थापन पक्षले महाधिवेशन गर्दा खुलामञ्चमा फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले सार्वजनिक कार्यक्रम गर्न नदिने अडान लिएको थियो। १८–२३ असोजमा कांग्रेस संस्थापन पक्षले पनि सोही स्थानमा महाधिवेशन गरेको थियो। देउवा पक्षले अन्यत्र विकल्प नभएको भन्दै आफूहरूले नै खुलामञ्च सफा गर्ने प्रतिबद्धता जनाएपछि महानगरले उद्घाटन कार्यक्रमका लागि अनुमति दिएको ती नेताले बताए।
महाधिवेशनमा ८ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। क्षेत्रबाट निर्वाचित भएर आउने र पदेन प्रतिनिधिको संख्या मात्रै आठ हजारभन्दा बढी छ। विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व भने सुनिश्चित गर्न बाँकी रहेको जनाइएको छ।







