पार्टीका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको अवस्थामा बंगलादेशको गोपालगञ्जमा अवामी लिगसँग आबद्ध नेता, कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिएका छन् । स्थानीय पत्रकारका अनुसार प्रदर्शन दिनभर चलेको थियो र त्यसमा सहभागीमध्ये केहीले धारिलो हतियार एवं लाठी बोकेका थिए ।
बीबीसी बंगालाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा पनि उनीहरूले आगजनी गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीको एउटा गाडीसमेत जलाइएको उल्लेख छ ।
कलेजको नामपाटीमा परिवर्तन
प्रदर्शनकारीहरूले गोपालगञ्ज सरकारी कलेजको नामपाटी हटाएर त्यसको ठाउँमा ‘सरकारी बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखेका थिए । यसैगरी गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयको हादी चत्तरमा राखिएको नामपाटी पनि तोडफोड गरिएको समाचारमा जनाइएको छ ।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि अवामी लिग नेतृत्वको शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछि उक्त कलेजको नाम फेरेर गोपालगञ्ज सरकारी कलेज राखिएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रदर्शनका भिडियोमा सहरमा प्रहरीको उपस्थिति देखिन्छ । प्रदर्शनकारीले प्रहरीको निगरानीमा र्याली निकालेका तथा सडक अवरुद्ध गरेका थिए । जिल्ला प्रहरीले भने घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।







