सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको योजना बनाउने र त्यसमा सहभागी हुने काममा संलग्न रहेका हमासका वरिष्ठ नेतामध्ये एक समिर अबु युनिस इजरायली हवाई आक्रमणमा मारिएका छन् । हमासको सैन्य शाखा अल कासम ब्रिगेडका अनुसार रफाह ब्रिगेडका नवनियुक्त कमान्डर युनिसको मृत्यु शनिबार दक्षिणी गाजापट्टीको अल मवासी क्षेत्रमा भएको हो ।
हमासका एक स्थानीय अधिकारीले युनिसको मृत्यु पुष्टि गरेका छन् भने इजरायली सेनाले पनि उनैलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ ।
घटनास्थलका प्रत्यक्षदर्शीका भनाइअनुसार अल मवासीस्थित अल वाहा शिविरमा रहेको एउटा पालमा चार क्षेप्यास्त्र खसेका थिए, जसपछि पालमा आगलागी भयो । सो शिविरमा विस्थापित भएर बसेका सयौं मानिस बसोबास गर्दै आएका थिए ।
दक्षिणी सहर खान युनिसको नासेर अस्पतालका एक चिकित्सकीय स्रोतका अनुसार आक्रमणपछि तीन जना घाइते र एक जनाको शव अस्पताल ल्याइएको छ ।
इजरायली सेनाको दाबी
इजरायली सेना र सुरक्षा निकाय आईएसएले टेलिग्राममार्फत जारी गरेको संयुक्त वक्तव्यमा युनिसको मृत्यु पुष्टि गरेका छन् । वक्तव्यमा उनलाई हमासका वरिष्ठ नेताहरूमध्येको एक महत्वपूर्ण व्यक्ति भनिएको छ र उनले आफ्नो ब्रिगेड तथा हमासको सैन्य क्षमता पुनः विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ ।
इजरायली पक्षको दाबीअनुसार युनिसले ब्रिगेडका लडाकुलाई इजरायली नागरिक तथा सैनिकविरुद्ध आक्रमणको तयारी गर्न र त्यस्ता आक्रमण कार्यान्वयन गर्न निर्देशन दिँदै आएका थिए ।







