भैरहवा एयर रुटका लागि भारतीय आकाश प्रयोग गर्ने विषयमा नेपाली र भारतीय पक्षबीच सहमति जुटाउने प्रयासले नयाँ मोड लिएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि भएको यो कूटनीतिक संवादमा भारतीय पक्षले बागडोग्रा र रक्सौलका उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव अघि सारेको छ ।
उच्च सरकारी स्रोतका अनुसार नेपाली पक्ष भैरहवा एयर रुटको माग सुरुदेखि नै दोहोर्याउँदै आएको छ । भारतीय पक्षले भने प्याकेजमै सहमति गर्ने प्रस्ताव गरेको छ, जसमा बागडोग्राको विषय पनि समेटिएको छ । सोही प्रस्तावका आधारमा दुई पक्षबीचको छलफल अगाडि बढेको हो ।
पूर्वी नेपाल र भुटान नजिक रहेको बागडोग्रा विमानस्थलबाट उड्ने र अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका लागि नेपालको पूर्वी भागको आकाश प्रयोग गर्न नेपाली पक्ष सहमत हुन तयार भएको छ । यस विषयमा दुई दिनअघि नयाँ दिल्लीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको सरकारी टोलीले गृहकार्य गरेको थियो ।
बागडोग्राका सन्दर्भमा नेपाली पक्षले हाललाई सहमति जनाउन सक्ने संकेत गरेको छ । रक्सौलका विषयमा भने केही समय अध्ययन गर्नुपर्ने जवाफ भारतीय पक्षलाई दिइएको स्रोतले जनाएको छ । बागडोग्राका लागि नेपाल खुला रहेको अर्थमा बुझ्न सकिने सोही स्रोतको भनाइ छ ।
आगामी मंगलबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल भारत जाने कार्यक्रम छ । सो भ्रमणमा यस विषयमा थप छलफल हुन सक्ने सम्भावना रहेको बताइएको छ । यसैगरी प्रधानमन्त्री बालेन शाहको एक सातापछि हुने भनिएको नयाँ दिल्ली भ्रमणका क्रममा यसबारे सहमति हुन सक्ने अपेक्षा गरिएको छ ।
बुद्ध एयरसँग पनि छलफल
भारतीय पक्षले आग्रह गरेअनुसार जनकपुर र भैरहवाको आन्तरिक उडान तथा भारतीय पर्यटकलाई नेपाली बजारसम्म ल्याउने विषयमा पर्यटन मन्त्रालयले आइतबार बुद्ध एयरसँग कुरा गरेको छ । भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न बुद्ध एयरले भूमिका निर्वाह गर्न सक्ने जवाफ मन्त्रालयले पाएको स्रोतको दाबी छ ।
पोखरा विमानस्थलको विषयमा भने भारतीय पक्षले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन । भैरहवा–पोखरा फास्टट्र्याक निर्माण र मुक्तिनाथसम्मको सहज यात्राका लागि आवश्यक निर्णय हुन सक्ने विषय पनि छलफलमा उठेको छ ।
उडान उचाइको विवाद
महेन्द्रनगर हुँदै यसअघि ३९ हजार फिटमाथिबाट जहाज आउनुपर्ने व्यवस्था गरिए पनि व्यवहारमा टर्किस र पाकिस्तानी एयरलाइन्सबाहेक अरू जहाज २९ हजारदेखि ३५ हजार फिटसम्म मात्रै उडिरहेको नेपाली पक्षले बताएको छ । सोही आधार देखाएर भारतीय पक्षले सुरक्षाको कारण अघि सार्दै आएको छ । प्रधानमन्त्री बालेनको भ्रमणमा एयर रुटको समस्या स्थायी रूपमा समाधान गर्ने प्रयास हुने सरकारी पक्षको भनाइ छ ।
एसिया प्रशान्त क्षेत्रका लागि उड्ने केही जहाज बागडोग्रा हुँदै आउने र तिनको संख्या पनि धेरै नभएकाले सो अनुमति दिन सम्भव देखिएको एक उच्च तहका अधिकारीले बताएका छन् । तर नेपाली हिमालको नजिकबाट धेरै उडान नहुन दिन भारतको साथ आवश्यक रहेकाले भैरहवा एयर रुटमा नेपालको जोड रहेको सरकारी स्रोतको भनाइ छ ।







