राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका शीर्ष अधिकारीहरूलाई अमेरिकी राजधानी वासिङ्टन डिसीमै निशाना बनाउने गरी इरानले ‘डर्टी बम’ अथवा रासायनिक हतियार प्रयोग गर्न सक्ने विकल्प तयार पारेको हुन सक्ने सङ्केत अमेरिकी गुप्तचरले फेला पारेको सिएनएनको समाचारमा उल्लेख छ।
तर तत्कालै कुनै आक्रमणको तयारी भने देखिएको छैन। गुप्तचर सूचनाअनुसार आक्रमण गर्ने निर्णय भएमा प्रयोग हुन सक्ने माध्यम, सम्भावित स्थान तथा लक्ष्यहरू भने पहिचान गरिसकिएको बताइएको छ।
योजना कार्यान्वयन गर्न आवश्यक पर्ने जनशक्ति इरानसँग छ वा छैन भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच नै अन्योल रहेको स्रोतको भनाइ छ। बम निर्माणमा प्रयोग हुने आणविक अथवा रासायनिक सामग्री अमेरिकी भूमिभित्रै लुकाइएको हुन सक्ने इरानी दाबीबारे पनि गुप्तचरले सूचना प्राप्त गरेको स्रोतले जनाएको छ।
‘डर्टी बम’ को जोखिम के हो ?
परम्परागत विस्फोटकसँग त्यस्तो पदार्थ मिसाएर ‘डर्टी बम’ तयार गर्न सकिन्छ। यसले ठूलो त्रास फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्ने बताइएको छ।
बहराइनमाथिको आक्रमणको निन्दा
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँगको कुराकानीमा बहराइनमाथि भएको इरानी आक्रमणको निन्दा गरेका छन्। खाडी क्षेत्रका साझेदारहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता उनले दोहोर्याएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अर्कोतर्फ उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धका रूपमा नलम्बिने बताएका छन्। फक्स न्युजसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा रहे पनि मध्यपूर्वमा दीर्घकालीन सैन्य उपस्थिति कायम राख्ने नीति अमेरिकाको नरहेको स्पष्ट पारेका छन्। द्वन्द्व अनुकूल परिणामका साथ टुङ्गिने विश्वास राष्ट्रपति ट्रम्पले राखेको भान्सको भनाइ छ।







