काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरेर सडकपेटीमा सुतिरहेको व्यक्तिको दृश्य समेटिएको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट तथा प्रसारण गर्नेहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले सो भिडियो तयार पार्ने र सामाजिक सञ्जालमा यताउता फैलाउने व्यक्तिहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिएका छन् ।
विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीले भिडियोमा देखिने व्यक्ति आफ्नो संगठनको सदस्य नभएको स्पष्ट पारेको छ । ती व्यक्तिले सशस्त्र प्रहरीको कम्ब्याट पोशाकको पाइन्ट लगाएको पाइएको पनि बलले उल्लेख गरेको छ ।
केही दिनयता सशस्त्र प्रहरीको कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडकपेटीमा सुतिरहेको एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । सोही भिडियोका आधारमा बलले यस्तो कारबाहीको प्रक्रिया सुरु गरेको हो ।
साथै सशस्त्र प्रहरीले असम्बन्धित व्यक्तिले बलको पोशाक, दर्ज्यानी चिह्न वा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि आग्रह गरेको छ ।







