१ साउन, काठमाडौं । आज साउने संक्रान्ति पर्व परम्पराअनुसार स्नान, दान र आफन्तबीच जमघट गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गरेको पहिलो दिन आजलाई देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्रचलन छ ।
सूर्य दक्षिणतर्फ गमन गर्न थालेकाले आजैदेखि दक्षिणायनको सुरुवात भएको मानिन्छ । माघ १ गतेदेखि उत्तरायण र साउन १ गतेदेखि दक्षिणायन सुरु हुने परम्परा छ । यी दुवै दिनलाई विशेष महत्त्व दिइन्छ ।
लुतो फाल्ने परम्परा
असारभर रोपाइँमा व्यस्त हुँदा हिलोमैलोबाट लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन छ । यस दिन कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधि वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्नेजस्ता काम गरिन्छ ।
शिवालयमा भीड
साउन महिनालाई भगवान् शिवको महिना मानिन्छ । यस महिनाभर काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको विशेष घुइँचो हुन्छ । साउनमा पर्ने सोमबारलाई शिवको बार मानिने भएकाले पनि शिवालयमा भीड बढी हुन्छ । यस वर्ष साउनमा चार सोमबार परेका छन् ।
महिलाहरूले हरियो चुरा लगायतका कपडा लगाएर प्रकृतिसँगको निकटता देखाउने गर्छन् । स्नान, दान र भगवान् शिवको पूजा गरेर साउने संक्रान्ति पर्व सम्पन्न गर्ने परम्परा छ ।







