मुख्य सामग्रीमा जानुहोस्

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना, मौसम महाशाखाको सतर्कता आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रलगायत अन्य केही स्थानमा ठूलो पानी पर्न सक्ने भएकाले…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना, मौसम महाशाखाको सतर्कता आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन वायुको प्रभाव कायम रहेको र आज पनि अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदरभन्दा केही माथि र पूर्वमा सरदर आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने महाशाखाले बताएको छ।

हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि पानी परिरहेको छ।

दिउँसो र रातिको मौसम पूर्वानुमान

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि यस्तै अवस्था रहने महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना छ।

राति पनि देशभर बदली कायम रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपात हुने महाशाखाले बताएको छ।

भारी वर्षाको चेतावनी र सतर्कता

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भाग तथा हिमाली भूभागमा पनि भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।