जल तथा मौसम विज्ञान विभागले आज देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदरभन्दा माथि र पूर्वतर्फ सरदर स्थानमा रहेकोले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने सम्भावना रहेको उनले बताए।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुन सक्नेछ।
वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ। साथै, यसले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि असर पुर्याउन सक्ने उल्लेख गर्दै विभागले आफ्ना पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने हिमाली क्षेत्रका केही स्थानमा हिमपातसमेत हुन सक्नेछ। आज राति पनि देशभर बदली रही पहाडी तथा तराईका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागको पूर्वानुमान छ।

