दोलखा — स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले तामाकोशीमा आएको भीषण बाढीपछि बाँधको पानी आकस्मिक रूपमा निकास (फ्लसिङ) गरेको छ । शनिबार रातिदेखि चीनतर्फबाट भीषण बाढी आएपछि यस्तो गरिएको हो ।
केन्द्रका निमित्त कार्यकारी अधिकारी पूर्णगोपाल रञ्जितका अनुसार बाँधस्थलभन्दा माथिल्लो क्षेत्रमा निरन्तर बाढी आइरहेकाले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द गरिएको छ । आइतबार बेलुकी ७ बजेसम्म बाँध खोल्ने र बन्द गर्ने कार्य हुने उनले बताए ।
आकस्मिक फ्लसिङका कारण केन्द्रले शनिबार बिहान २ बजेदेखि विद्युत् उत्पादन बन्द गरेको थियो । तामाकोशी नदीको बहावमा उतारचढाव आउने भएकाले तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । माछा मार्न, नुहाउन र नदी किनारमा नजान पनि आग्रह गरिएको छ ।
तामाकोशीको माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले बाढी आउने क्रम रोकिएको छैन । केन्द्रले थप सतर्कता अपनाउन सुझाव दिएको छ ।

