मुख्य सामग्रीमा जानुहोस्

कालीगण्डकी करिडोर चार दिनदेखि अवरुद्ध, थप दुई दिन लाग्ने

कालीगण्डकी करिडोरको बागलुङ खण्ड बेलबगरमा पहिरोले सडक अवरुद्ध भएको छ। चार दिनदेखि ठप्प करिडोर सुचारु गर्न थप दुई दिन लाग्ने अनुमान गरिएको छ। पहिरो हटाउन दुईवटा एक्स्काभेटर परिचालन गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
कालीगण्डकी करिडोर चार दिनदेखि अवरुद्ध, थप दुई दिन लाग्ने

कालीगण्डकी करिडोरको बागलुङ खण्ड बेलबगरमा गत बुधबार रातिदेखि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चार दिन बितिसक्दा पनि करिडोर सुचारु हुन सकेको छैन। पहिरो निरन्तर बगिरहेकाले सडकमा जम्मा भएको माटो र ढुंगा हटाउन कठिनाई भइरहेको छ।

सडक सुचारु गराउन सडक डिभिजन कार्यालय बागलुङ र पाल्पाका दुईवटा एक्स्काभेटर प्रयोग भइरहेको प्रहरी चौकी छिस्ती बेलबगरका सहायक निरीक्षक रामनिवास साह तेलीले बताए। उनका अनुसार झन्डै दुई सय मिटर सडक पहिरोले पुरेको छ। पहिरो हटाउन अझै दुई दिन लाग्ने र थप एक्स्काभेटर मगाइएको उनले जानकारी दिए।

कालीगण्डकी करिडोर अवरुद्ध हुँदा बागलुङ, म्याग्दी, मुस्ताङ, गुल्मी, स्याङ्जा, पाल्पा, बुटवललगायत स्थानमा आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्। स्थानीय प्रशासनले पहिरो हटाउन प्रयास जारी राखेको छ।