मुख्य सामग्रीमा जानुहोस्

काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीच दोस्रो खेल आज, दुवै टोली पहिलो जितको खोजीमा

पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। बुधबार कजाखस्तानसँग ३–२ ले पराजित नेपाल र पाकिस्तानसँग सोझो सेटमा हारेको श्रीलंका पहिलो जितको खोजीमा छन्।…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। नेपाली समय अनुसार बिहान ११:१५ बजे इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा सुरु हुने यस खेलमा दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

बुधबार भएको पहिलो खेलमा नेपाल कजाखस्तानसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित भएको थियो। नेपालले दुई सेट गुमाएपछि पुनरागमन गरे पनि पाँचौं सेटमा हार बेहोर्नुपर्यो। त्यसैगरी, श्रीलंकाले पनि पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ।

एफआईभिबी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा ८४औं स्थानमा रहेको छ भने श्रीलंका ८८औं स्थानमा छ।

आजको खेलसँगै कजाखस्तान र उज्वेकिस्तान तथा पाकिस्तान र बंगलादेशबीच पनि खेल हुनेछ। सहभागी ६ राष्ट्रबीच राउन्ड रोबिन खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपाली टोलीको कप्तानी सेटर हरिहजुर थापाले गरिरहेका छन्। यस पटकको टोलीमा ६ नयाँ खेलाडी समावेश छन्, जसले कजाखस्तानविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।