मुख्य सामग्रीमा जानुहोस्

आपसी द्वन्द्वले कोही विजयी हुँदैन : सभापति लामिछाने

सभापति लामिछानेले हिंसा नफैलियोस् र सद्भाव कायम रहोस् भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन्। साथै उनले सबै राजनीतिक दलका नेताहरूलाई आफ्ना नागरिकसम्म शान्तिका सन्देश पुर्‍याउन पनि अपिल गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

देशको पछिल्लो परिस्थितिबारे तराई–मधेस केन्द्रित दलका नेताहरूसँग भएको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शान्ति र सद्भावका पक्षमा आवाज उठाएका छन्। सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको उक्त छलफलपछि उनले सबै राजनीतिक दल, नेता र नागरिकलाई संयमित हुन आग्रह गरेका हुन्।

सभापति लामिछानेले हिंसा नफैलियोस् र सद्भाव कायम रहोस् भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए। उनले आरोपप्रत्यारोप र तत्काल समीक्षा गर्नेभन्दा हिंसा नियन्त्रणमा केन्द्रित हुनुपर्ने धारणा राखे। बोलिने शब्द र सामाजिक सञ्जालका टिप्पणीहरू शान्ति स्थापनाका लागि सहयोगी हुनुपर्नेमा पनि उनले जोड दिए।

उनले सबै राजनीतिक दलका नेताहरूलाई आफ्ना कुरा सुन्ने र विश्वास गर्ने नागरिकसम्म शान्ति, सद्भाव र संयमको सन्देश पुर्‍याउन अपिल गरे। यो सन्देश हरेक बस्ती र टोलसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए। आपसी द्वन्द्वबाट कोही विजयी नहुने कुरा आमनागरिकलाई बुझाउन पनि उनले आग्रह गरे।

लामिछानेले मानिसहरू एकअर्कासँग डराउने अवस्था सिर्जना हुन नदिन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने बताए। साम्प्रदायिक हिंसा कसरी उत्पन्न भयो भन्ने समीक्षा पछि गर्न सकिने भए पनि अहिलेको प्राथमिकता आगो निभाउनु नै रहेको उनको भनाइ छ। परिवारका सदस्यलाई अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा राख्न पनि उनले आग्रह गरेका छन्।

मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

देशको पछिल्लो परिस्थितिबारे छलफल गर्न आयोजित बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रिय निर्माण दलका नेता समिम अन्सारी सहभागी थिए।

नेताहरूको भनाइ

बैठकपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शान्ति र सद्भाव कायम राख्ने र अफवाह फैलिन नदिने विषयमा सहभागीहरूबीच सहमति भएको बताए। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले न्याय, शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव सुनिश्चित गर्न सरकार प्रभावकारी ढंगले लाग्ने विश्वास व्यक्त गरे।