राप्रपाका पूर्वमहामन्त्री धवलशम्सेर राणाले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै तराई क्षेत्रको बिग्रँदो अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सबै पक्षलाई आग्रहसमेत गरेका छन्।
सुनसरीको देवानगन्ज र कप्तानगन्जबाट सुरु भएको विवाद अहिले मधेश प्रदेशका अन्य जिल्लामा समेत फैलिएको छ। झडप, विरोध प्रदर्शन र आगजनीका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने जनधनसमेत क्षति पुगेको छ।
शान्ति सुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण
यस्तो संवेदनशील समयमा तत्काल शान्ति कायम हुनुपर्नेमा राणाले जोड दिएका छन्। उनले भनेका छन्, 'यस संवेदनशील घडीमा पूर्ण रुपमा जिम्मेवार बनेर शान्ति सुव्यवस्था तत्काल कायम गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु। साथै, आम नागरिकको जिउधनको रक्षा गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग जोडदार माग गर्दछु।'
उनले आम नागरिकको जिउधनको संरक्षण र पूर्ण सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउँदै सरकारले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
सहिष्णुताको विरासत जोगाउन आह्वान
अपिलमा नेपालको मौलिकतालाई समेत सम्झाइएको छ। अनेकतामा एकता र विविधताप्रतिको सम्मान नै नेपाली समाजको सहिष्णु मान्यता रहेको उनको भनाइ छ। त्यस्तो विरासत बचाउनु सबैको साझा दायित्व भएको पनि उनले बताएका छन्।
तनावलाई थप चर्काउनुभन्दा वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा राणाले जोड दिएका छन्। शान्तिपूर्ण उपाय अवलम्बन गर्दै धैर्य र संयमता अपनाएर आपसी सद्भावको रक्षा गर्न उनले सम्पूर्ण सरोकारवाला पक्षसँग आग्रह गरेका छन्।
