पर्सा जिल्ला प्रशासन कार्यालयले बिरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि सो क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, जमघट गर्न, र्याली निकाल्न तथा प्रदर्शन गर्न पाइने छैन।
जिल्ला सुरक्षा समितिको निर्णयपछि प्रमुख जिल्ला अधिकारी गणेश दहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम यो आदेश जारी गरेका हुन्। सुरक्षाका दृष्टिले आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
प्रतिबन्धित क्षेत्र
निषेधाज्ञा लागू हुने सीमा पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास सडक, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट रहेको छ। यो क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्तिको सार्वजनिक भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको छ।
उल्लङ्घन गरे कारबाही
आदेशको उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ। निषेधाज्ञा कायम रहेका बेला शान्ति र सार्वजनिक सुरक्षा कायम राख्न सहयोग गर्न तथा आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ।
