मुख्य सामग्रीमा जानुहोस्

ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी पर्वतारोही पुरबहादुर गुरुङको निधन

३७ वर्षीय पर्वतारोही पुरबहादुर गुरुङको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। उनले १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

गोरखा, १५ साउन । पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को मृत्यु भएको छ। हिमपहिरोमा परी उनको ज्यान गएको अल्पाइन क्लब अफ पाकिस्तान र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले पुष्टि गरेका छन्।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार हिमपहिरोमा परी चार जनाको शव फेला परेको थियो। तीमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही गुरुङको पहिचान भएको क्लबले जनाएको छ। पाकिस्तानी पर्वतारोहणको आधिकारिक निकाय रहेको अल्पाइन क्लबले उनको निधनको सूचना सार्वजनिक गरेको हो।

हिमालकै काखमा बाल्यकाल

उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा सन् १९८९ मा जन्मिएका गुरुङ हिमालकै काखमा हुर्केका थिए। उनले ब्रिटिस सेनामा भर्ती हुने सपना बोकेका थिए, तर सशस्त्र द्वन्द्वका कारण त्यो सपना पूरा हुन सकेन। बाल्यकालमै उनी मनाङको एउटा होटलमा काम गर्न पुगे, जहाँ ट्रेकिङ गाइडहरूसँगको सम्पर्कले उनलाई गाइड बन्ने बाटो देखायो।

सहकर्मी तथा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुलसिङ गुरुङका अनुसार पुरबहादुरले सन् २००९ मा पोर्टरका रूपमा आरोहण क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले क्याम्पिङ ग्रुपमा किचन हेल्परको काम गरे, अनि क्रमशः सहयोगी गाइड, ट्रेक गाइड र प्लानिङ गाइडसम्मको यात्रा तय गरे। गत डिसेम्बरमा उनले इन्टरनेशनल माउन्टेन गाइडसमेत उत्तीर्ण गरेको तुलसिङले जानकारी दिए।

दश पटक सगरमाथा, १२ आठहजारी

गुरुङले सन् २०११ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसयता उनले १० पटक सगरमाथा चढिसकेका छन्। गुरुङ समुदायमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने उनी नै थिए।

विश्वका १४ आठहजारी हिमालमध्ये १२ वटाको सफल आरोहण गरेका उनले पाकिस्तानको माउन्ट केटू २४ घण्टाभित्र आरोहण गरेर कीर्तिमान पनि बनाएका थिए। हिमालमा फसेका पर्यटकको उद्धारमा समेत उनी सक्रिय रहन्थे।

ब्रोड पिक आरोहणका लागि उनी तीन हप्ताअघि मात्र नेपालबाट पाकिस्तान गएका थिए। सोही आरोहणका क्रममा उनको निधन भएको हो।

श्रद्धाञ्जली

गुरुङको निधनपछि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जालमा श्रद्धाञ्जली पोस्ट राख्दै दुःख व्यक्त गरेको छ।