नेपालमा जन्मिएका चर्चित बेलायती पर्वतारोही निर्मल 'निम्सदाई' पुर्जाको पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा मृत्यु भएको पुष्टि भएको छ । उनकै कम्पनी एलिट एक्सपिडिसनले शनिबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो ।
४३ वर्षीय पुर्जा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीको नेतृत्व गर्दै थिए । गत बिहीबार, जुलाई ३० मा ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएको थियो, जसले आरोहीहरूलाई हिमालको पश्चिमतर्फको भुङ्ग्रोबाट तल बगाएको थियो ।
टोली क्याम्प २ बाट क्याम्प ३ तर्फ अघि बढिरहेका बेला हिमपहिरो खसेको थियो र सम्पूर्ण टोलीसँगको सम्पर्क टुटेको थियो ।
मृत्युको पुष्टि र शव सनाखत
एलिट एक्सपिडिसनका अनुसार हिमपहिरोमा पुर्जा र उनका विश्वासिला आरोहण साथी पूर्णबहादुर गुरुङ (युक्ता) तथा निमा शेर्पाको ज्यान गएको छ । कम्पनीले टोलीका अन्य सदस्यहरू पनि बाँच्न नसकेको जनाएको छ । पाकिस्तानी अधिकारीहरूले शव खोजी र सनाखतको काम जारी राखेका छन् ।
शुक्रबार हिमालबाट चार जनाको शव फेला परेको थियो, जसमध्ये दुई जनाको सनाखत भयो– नेपाली आरोही पूर्णबहादुर गुरुङ 'युक्ता' र ओमानी आरोही नधिरा अल हार्थी । त्यसबेला पुर्जा, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, पाकिस्तानका सोहेल साखी, अमेरिकाकी म्यालोरी गेस र चीनका वाङ झोङ बेपत्ता सूचीमा थिए । पछि खोज तथा सनाखतका क्रममा पुर्जा, पूर्णबहादुर गुरुङ र निमा शेर्पाको मृत्यु भएको एलिट एक्सपिडिसनले पुष्टि गरेको हो ।
खोज तथा उद्धार अभियान
खराब मौसम र भारी हिमपातका कारण एक दिनका लागि रोकिएको खोजी शनिबार पुनः सुरु भएको छ । गिल्गित-बाल्टिस्तान प्रशासनले मौसममा सुधार आएसँगै हेलिकोप्टर उडान र जमिनबाट हुने खोजी जारी राखिएको र थप शेर्पा उद्धार टोली पनि अभियानमा सहभागी भएको जनाएको छ ।
नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा डेभिड शेर्पा नेतृत्वको तीन सदस्यीय टोली खोजीमा सहयोग गर्न पाकिस्तान पुगिसकेको छ । बेलायतबाट थप सहयोग टोली पनि चाँडै आउने अपेक्षा गरिएको छ । पाकिस्तानी सेना, उच्च उचाइका उद्धार टोली र अनुभवी पर्वतारोहीहरू पनि अभियानमा सामेल छन् ।
ड्रोन सर्वेक्षणबाट पहिचान गरिएका स्थानतर्फ चर्चित नेपाली पर्वतारोही मिङमा ग्याल्जे शेर्पा (मिङमा जी) र पाकिस्तानी आरोही सिरबाज खानको नेतृत्वमा जमिन टोली गएको छ । पाकिस्तानी आरोही नायला कियानीका अनुसार शव खोज्ने प्रयास सुरु गर्नुअघि उद्धारकर्ताहरूले हिमपहिरोको क्षेत्र थप पहिरोको जोखिमबाट सुरक्षित छ÷छैन भनेर आकलन गर्नेछन् ।
श्रद्धाञ्जली र समन्वय
एलिट एक्सपिडिसनले पुर्जाप्रति श्रद्धाञ्जली ज्ञापन गर्दै उनलाई पर्वतारोहणका महान् आरोहीमध्ये एक भनेको छ । उनको साहस, नेतृत्व र दृढ संकल्पले विश्वभरका लाखौं मानिसलाई प्रेरित गरेको कम्पनीले बताएको छ । उनको विरासत उनले प्रभाव पारेका जीवन र उनले निर्माण गरेका एलिट एक्सपिडिसन तथा निम्सदाई फाउन्डेसनजस्ता संस्थाहरूमार्फत कायम रहने उल्लेख गरिएको छ ।
नेपाल सरकारले इस्लामाबादस्थित दूतावासमार्फत पाकिस्तानी अधिकारीहरू र अल्पाइन क्लब अफ पाकिस्तानसँग निरन्तर समन्वय गरिरहेको छ । नेपाल पर्वतारोहण संघ र एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालले उद्धार अभियानका लागि हरेक सम्भावित स्रोत परिचालन गर्न आग्रह गरेका छन् ।
ह्याट-ट्रिक प्रोजेक्टको नजिक थिए पुर्जा
यस दुर्घटनाभन्दा केही दिनअघि मात्र पुर्जाले जुलाई २२ मा पाकिस्तानको ग्यासरब्रुम दोस्रो आरोहण गरेका थिए । यो उनको आठ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण थियो । यो उपलब्धिसँगै उनी आफ्नो महत्त्वाकांक्षी ह्याट-ट्रिक प्रोजेक्ट पूरा गर्न एउटा आरोहण मात्र बाँकी थियो । उक्त परियोजनाअन्तर्गत उनले विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल तीन-तीन पटक आरोहण गर्ने र सेभेन समिट्स पनि तीन पटक पूरा गर्ने लक्ष्य राखेका थिए ।
