मुख्य सामग्रीमा जानुहोस्

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को असामयिक निधन

नेपालले एक साहसी पुत्र र विश्वले एक असाधारण पर्वतारोही गुमाएको छ। निर्मल पुर्जा ‘निम्सदाइ’का एक आत्मीय मित्रका अनुसार उनी जहाँ पुग्थे, आशावाद फैलाउँथे र युवालाई ठूला सपना देख्न प्रेरित गर्थे।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को असामयिक निधन भएको छ । उनको निधनले नेपालले एक साहसी पुत्र, विश्वले एक अद्वितीय पर्वतारोही र उनका आफन्त तथा मित्रहरूले एक प्रिय साथी गुमाएका छन् ।

निम्सदाइका एक आत्मीय मित्रका अनुसार उनलाई सन् २०१७ मा काठमाडौंको रोयल सिंही होटलमा पहिलो पटक भेटिएको थियो । त्यतिबेला उनले बेलायती सेनाको प्रतिष्ठित जागिर छाडेर पहिलो पटक सगरमाथा आरोहणको तयारी गरिरहेका थिए । धेरैका लागि जोखिमपूर्ण देखिएको त्यो निर्णय उनले सीमाभन्दा परको सोच राख्ने व्यक्तित्वलाई देखाउने प्रमाण थियो । त्यसपछि विभिन्न कार्यक्रम, छलफल, बैठक, ठमेलका क्याफे–बार र काठमाडौं मेरियट होटलमा उनीसँग भेटघाट भइरह्यो ।

उनीसँग हिमाल, पर्यटन, नेपाल र भविष्यका सम्भावनाबारे लामो कुराकानी हुन्थ्यो । नेपालका हिमाललाई उनी केवल आरोहणका गन्तव्यका रूपमा होइन, विश्वलाई प्रेरणा दिने साहसिक पर्यटनको केन्द्रका रूपमा हेर्थे ।

प्रोजेक्ट पोसिबल र कीर्तिमान

निर्मल पुर्जा ‘प्रोजेक्ट पोसिबल’ अभियानका लागि विश्वमा चिनिए । उनले १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल अत्यन्तै छोटो समयमा आरोहण गरेर इतिहास रचे । तर उनको योगदान कीर्तिमानमा मात्र सीमित थिएन । नेपाली साहस, अनुशासन, नेतृत्व र संकल्पको सीमा नहुने उनले देखाए ।

नेपाली पर्वतारोहीको पहिचान

उनले नेपाली पर्वतारोहीलाई सहयोगी वा गाइडका रूपमा मात्र हेर्ने पुरानो धारणा बदले । विश्व पर्वतारोहणको अग्रपंक्तिमा नेपालीहरू नेतृत्व गर्न सक्ने क्षमता राख्छन् भन्ने स्थापित गर्न उनले महत्त्वपूर्ण भूमिका खेले । उनकै सफलताले हजारौं युवा नेपालीमा आफ्नै क्षमताप्रति विश्वास पैदा गरेको उनका मित्र बताउँछन् ।

पर्वतीय पर्यटन र प्रशासनिक जटिलता

नेपालको पर्वतीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उनको सपना थियो । आरोहणलाई थप सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउने, नेपाली गाइड र पर्वतारोहीको अन्तर्राष्ट्रिय ब्रान्ड निर्माण गर्ने, हिमाली पर्यटनलाई वर्षभरि चलायमान बनाउने उनका योजना थिए । तर नेपालको कठोर, ढिलो र परम्परागत प्रशासनिक संरचनाले उनलाई पटक–पटक निराश बनाउँथ्यो । अन्तर्राष्ट्रिय स्तरमा तुरुन्तै गर्न सकिने सुधारहरू नेपालमा किन वर्षौंसम्म अल्झिन्छन् भन्ने उनको जिज्ञासा आलोचना होइन, नेपालप्रतिको गहिरो माया रहेको मित्रको भनाइ छ ।

व्यक्तित्व र समवेदना

ऊर्जावान् निम्सदाइ जहाँ पुग्थे, आशावाद फैलाउँथे । ठूलो प्रसिद्धि र सम्मान पाइसक्दा पनि उनी सहज, खुला र आफ्नै शैलीमा सबैसँग घुलमिल हुने व्यक्ति थिए । यही कारण उनी असंख्य युवाका रोल मोडल बने । अब उनका सपनालाई नीति, व्यवहार र नेतृत्वमा रूपान्तरण गर्नु नै उनको सम्झनाप्रति सच्चा सम्मान हुने उनका मित्र बताउँछन् ।

दुःखद घडीमा उनका परिवार, आफन्त, साथीभाइ तथा उनीसँगै जीवन गुमाउने पर्वतारोहीहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । हिमाल जित्ने निम्सदाइ आफैं एउटा हिमाल बनेर सधैं स्मरणीय रहने छन् ।