जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य र पूर्वी नेपालका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी जारी गरेको छ। मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेर तराई क्षेत्रनजिक आउँदा वर्षाको जोखिम बढेको विभागले जनाएको छ।
दिउँसो र रातको वर्षा अनुमान
विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक वा दुई स्थानमा भारी वर्षा हुनसक्छ। राति भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका केही भागमा अति भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको पहाडी र तराई क्षेत्रमा पनि यस्तै जोखिम देखिएको छ।
देशैभर वर्षा, हिमाली क्षेत्रमा हिमपात
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा अलिक उत्तरतिर नेपालको तराई नजिक रहेकाले व्यापक वर्षाको सम्भावना बढेको हो। पहाडी क्षेत्रका धेरै स्थान र केही तराई जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात वा वर्षा हुनसक्ने महाशाखाले बताएको छ।
विभागको सहरी पूर्वानुमानअनुसार काठमाडौं र पोखरामा दिनभर र रातभर वर्षा हुने सम्भावना ८० प्रतिशत छ। धनकुटा, जिरी र ताप्लेजुङमा पनि निरन्तर वर्षा रहने देखिएको छ। जनकपुर, विराटनगर, नेपालगन्ज, धनगढी र भैरहवामा भने मध्यम वर्षा हुने अनुमान छ।
बाढी र पहिरो जोखिमका बासिन्दालाई आग्रह
देशका धेरै स्थानमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन डिएचएमले आग्रह गरेको छ।
