मुख्य सामग्रीमा जानुहोस्

बाढी र पहिरोले देशका प्रमुख सडक अवरुद्ध, रातको यात्रामा रोक

लगातारको वर्षापछि देशभरका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ। नेपाल प्रहरीले यात्रुहरूलाई आवश्यक निकायसँग सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

लगातार परेको वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडकहरूमा पहिरो र बाढीले सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आइतबार बिहान ६ बजेसम्मको अवस्था सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रातिको समयमा यात्रा गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

बाढीको जोखिमका कारण विपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्ति राजमार्गमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन यात्रा बन्द गरिएको प्रहरीले जनाएको छ।

मेची राजमार्ग बन्द

इलाम नगरपालिका–९ को मेची राजमार्ग भने पानीले सडक हिलाम्मे भएपछि पूर्ण रूपमा बन्द गरिएको छ। सडक असुरक्षित बनेकाले त्यहाँ सवारी चलाउन नदिइएको हो।

पहिरो र कटानले अवरुद्ध सडक

पहिरो र नदी कटानका कारण थुप्रै सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको जिरोकिलो र कोदारीमा अरनिको राजमार्ग अवरुद्ध भएको छ। दोलखाको किर्नेटारमा तामाकोशी नदीको कटानले लामोसाँघु–रामेछाप सडक बन्द भएको छ।

रसुवाको खल्ते–पासाङ ल्हामु सडक त्रिशूली नदीले क्षति पुर्‍याएपछि अवरुद्ध भएको छ। गोरखाको लार्के–बेनीघाट सडक पहिरोले बगाएर बन्द भएको प्रहरीले जनाएको छ।

यात्रुहरूलाई प्रहरीको आग्रह

यस क्रममा नेपाल प्रहरीले यात्रुहरूलाई सम्बन्धित निकायसँग सडकको पछिल्लो अवस्थाबारे बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अझै पनि मनसुन जारी रहेकाले पहिरो, बाढी र सडक क्षतिको जोखिम बढिरहेको भन्दै सतर्कता अपनाउन पनि भनिएको छ।