बाजुरामा सोमबार एक २४ वर्षीया महिला स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएकी छन्। स्वामिकार्तिक खापर गाउँपालिकाको दुर्गम क्षेत्रमा केही दिनभित्रै यो दोस्रो यस्तो घटना हो।
गाउँपालिका–३ जोरु गाउँकी अनिता महतारालाई प्रसवपीडा सुरु भएपछि स्थानीय युवाहरूले स्ट्रेचरमा बोकेर नजिकैको स्वास्थ्य संस्था लग्दै थिए। बीचबाटोमा उनको अवस्था बिग्रिएपछि चिकित्सकीय सहायता पाउनुअघि नै बच्ची जन्मिएको हो।
परिवारको सूचनापछि जुकोट स्वास्थ्य चौकीकी सहायक नर्सिङ मिडवाइफ (एएनएम) ग्यानुदेवी शाही अधारी खोला नजिक पुगिन् र आपत्कालीन सुत्केरी सेवा उपलब्ध गराउँदै सुरक्षित प्रसव गराइन्। शाहीका अनुसार आमा र नवजात शिशु दुवैको अवस्था सामान्य छ।
वडा सदस्य लज्मर महताराले भर्खर जन्मिएकी बच्ची अनिताको दोस्रो सन्तान भएको बताए।
गुफामा सुत्केरी भएकी साउरी
यसअघि केही दिन पहिले यही गाउँपालिकाको वडा नम्बर २ की २४ वर्षीया साउरी बुढाले स्वास्थ्य संस्था लैजाने क्रममा गुफाभित्र बच्चा जन्माएकी थिइन्। उनको घटनाले पनि यहाँको यातायात र स्वास्थ्य सेवाको अवस्थाबारे प्रश्न उठाएको छ।
सडक र एम्बुलेन्स सेवाको माग
स्थानीयवासीका अनुसार यी दोहोरिएका बाटोमै सुत्केरी हुने घटनाले दुर्गम गाउँपालिकामा यातायात र स्वास्थ्य सेवाको गम्भीर अभावलाई उजागर गरेको छ। जोरु गाउँसम्म मोटरबाटो नपुगेकाले स्थानीयलाई अधारी खोला पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। स्वास्थ्य सेवा लिनका लागि पनि त्यही बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।
स्थानीयले सडक सञ्जाल, एम्बुलेन्स सेवा र मातृ स्वास्थ्य सुविधामा सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। कमजोर पूर्वाधारका कारण दुर्गम क्षेत्रका गर्भवती महिलाले ज्यान जोखिममा राखेर प्रसव गर्नुपरेको उनीहरूको भनाइ छ।
