सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।
आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ स्वयम् उपस्थित भएर माग पूरा नगरेसम्म शव नउठाउने अडान लिएका छन्। अस्पताल परिसरमा उनीहरूले गृहमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका छन्।
आफन्तको माग
मेहताका आफन्तले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्राउ नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको र गोली चलाउने व्यक्तिको नाम नखुलाइएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।
कप्तानगञ्जमा विरोध
यसैबीच कप्तानगञ्जमा पनि स्थानीयवासीले विरोध जनाएका छन्। उनीहरूले रुख ढालेर सडक अवरुद्ध पारेका छन्। अहिले घटनास्थलमा प्रहरी र सेना परिचालन गरिएको छ।
