सुनसरीको कप्तानगञ्जमा सल्किएको धार्मिक विवादको आगो सिरहाको गोलबजारसम्म पुग्दा व्यवसायी साबिर खाँको २५ वर्षे मेहनत खरानीमा परिणत भएको छ। गोलबजार चोकस्थित नेहाल आइरन स्टोरका सञ्चालक साबिरका अनुसार बुबा मो. अजिजु खाँले आर्जेको सम्पत्ति र बैंकबाट ऋण लिएर विस्तार गरिएको व्यवसाय एकै घण्टामा ध्वस्त भयो। उनले आफ्नो क्षति करिब २५ करोड रुपैयाँ पुगेको बताएका छन्।
विवादकै क्रममा राज्यले चलाएको गोलीका कारण सुनसरी र सिरहामा चार युवकको मृत्यु भइसकेको छ। साबिरको भनाइमा उनी कुनै पक्षमा थिएनन्, तर सुनसरीमा गोली नचलेको भए उनको पसल आज यसरी जल्ने थिएन। गोलबजार चोकका ६१ वर्षीय स्थानीय जीबछ साहले आफ्नो जीवनकालमा यस्तो भयावह दृश्य कहिल्यै नदेखेको बताए। उनका अनुसार छिमेककै एक परिवार अपरिचित भिडबाट कुटिएको थियो।
२५ करोडको व्यवसाय खरानी
साबिर अहिले जलेको खण्डहर सम्हाल्ने कि परिवार सम्हाल्ने भन्ने दोधारमा छन्। उनले बुबाको कमाइ र खेतबारी बेचेर स्थापना गरेको पसल खरानी भएको र अब छोराछोरी कसरी पढाउने भन्ने चिन्ता रहेको सुनाए। उनकै पसलमा २० जना हिन्दु समुदायका मानिसले रोजगारी पाउँदै आएका थिए। साबिरले मासिक करिब डेढ लाख रुपैयाँ राज्यलाई कर तिर्दै आएको बताए।
उनका अनुसार गोलबजारमा दुई समुदायबीच कहिल्यै द्वन्द्व भएको थिएन। चाडपर्वमा एक अर्काको घरमा सहभागी हुने, सुखदुःख साट्ने सम्बन्ध थियो। यही सम्बन्धका कारण उनका छिमेकीहरू सान्त्वना दिन घरबाटै गोलबजार आइपुगेका थिए। तर प्रशासनले भने आगजनी रोक्न तथा आगो निभाउन आवश्यक चासो नदिएको साबिरको आरोप छ। उनले प्रहरीले चाहेको भए पसल केही हदसम्म जोगाउन सकिने तर ढिलाइका कारण केही बाँकी नरहेको बताए।
सान्त्वना दिन आए छिमेकी, सरकार आएन
साबिरलाई भेट्न उनको पुर्ख्यौली गाउँ सिरहा नगरपालिका–२० बाट छिमेकी विजय यादव, दिवाकर यादवलगायत गोलबजार आएका थिए। उनीहरूले निर्दोष व्यक्तिको सम्पत्तिमा आगजनी गर्नुलाई ठूलो अपराध बताउँदै दोषीलाई कडा कारबाही र पीडितलाई अविलम्ब क्षतिपूर्तिको माग गरे।
तर, साबिरलाई सबैभन्दा दुःख लागेको कुरा राज्यका कुनै पनि तहबाट खोजखबर नआउनु हो। उनले गृहमन्त्रीबाट ठूलो अपेक्षा गरेको तर एक पटक पनि न भेट्न आएको गुनासो पोखे। “सरकारसँग एउटै माग छ – क्षतिपूर्ति दिइयोस्। नत्र आत्महत्या गर्ने अवस्थामा पुगिसकेका छौं,” उनको भनाइ छ।
गोलबजारमा व्यापक क्षति
गोलबजारमा साबिरको पसल मात्रै होइन, थुप्रै व्यवसाय र घरमा आगजनी तथा तोडफोड भएको छ। साबिरकै पसलनजिकै रहेको एबी मल पनि जलेर खरानी भएको छ। सिरहा सुपरमार्केटका सञ्चालक जहाँगिर अन्सारीका भाइ जाफिर अन्सारीका अनुसार सो मल निर्माणमा करिब १२ करोड रुपैयाँ खर्च भएको थियो भने भवन र सामग्री गरी करिब २२ करोडको क्षति पुगेको छ। उनले मल सञ्चालनका लागि कुमारी बैंकबाट २२ करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए।
गोलबजार–८ पुरानो चोकस्थित न्यू असलम वस्त्रालय तथा आलिया इन्टरप्राइजेजमा आगजनी गरिएको छ। सञ्चालक असलम खानले करिब ५ करोड रुपैयाँको क्षति भएको बताए। यस्तै, गोलबजार–४ मा अब्दुल्लाह खानको घरमा तोडफोड हुँदा करिब १० लाख, एके ब्रदर्समा लुटपाट हुँदा २० लाख रुपैयाँको क्षति पुगेको छ।
नौसाद मोटर पार्टस् एन्ड वर्कसपमा आगजनी हुँदा ग्राहकका ६ वटा मोटरसाइकलसहित करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक इमरान खानले बताए। गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवरको गोलबजार–४ मा रहेको घरमा पनि आगजनी र तोडफोड भयो। उनका अनुसार घरभित्रका फर्निचर, विद्युतीय उपकरण, नगद, सुनचाँदी र गरगहना नष्ट हुँदा करिब ६० लाख रुपैयाँको क्षति पुगेको छ।
रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेसमा समेत तोडफोड भई करिब ३ लाख रुपैयाँको क्षति भएको सञ्चालक पप्पु खानको भनाइ छ। गोलबजारमा फुटपाथमा रेडिमेड कपडा पसल गर्ने महेन्द्र ठाकुरले यसलाई निन्दनीय घटना बताउँदै पीडितले न्याय पाउनुपर्ने माग गरे।
जेनजी आन्दोलनदेखि नै यस्तो प्रवृत्ति बढेको भन्दै नागरिक समाजका अगुवाहरूले दोषीलाई समयमै कारबाही नगरे दण्डहीनता मौलाउने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलन गर्न पाइने तर सम्पत्ति लक्षित आगजनी अक्षम्य अपराध भएको बताएका छन्। तसर्थ, दोषी पत्ता लगाएर कडा कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग उनीहरूको छ।
