मुख्य सामग्रीमा जानुहोस्

बाढीपहिरोका कारण ३ सडकखण्ड पूर्ण, ६ सडकखण्ड आंशिक रूपमा अवरुद्ध

बाढी र पहिरोका कारण देशभर तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने छ वटा सडकखण्ड आंशिक रूपमा प्रभावित छन् । नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौँ, साउन २० — बाढी र पहिरोका कारण देशका तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने छ वटा सडकखण्ड आंशिक रूपमा प्रभावित भएका छन् । सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो, नदी कटान तथा सडक भासिएकै कारण विभिन्न राजमार्गमा आवागमन प्रभावित बनेको हो ।

विभागका अनुसार पहिरोका कारण अवरुद्ध भएका २४ वटा सडकखण्ड भने सामान्य सुधारपछि पुनः सञ्चालनमा आइसकेका छन् । नेपाल प्रहरीले पहिरो, नदी कटान, हिलो र सडक भासिएका कारण राजमार्गहरू प्रभावित भएको जनाएको छ ।

राति सवारी सञ्चालनमा रोक

बीपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बाढीको जोखिम कायम रहेकाले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको प्रहरीले बताएको छ ।

पूर्ण रूपमा बन्द सडकखण्ड

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भई पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग भने तीन स्थानमा पहिरो, लेदो र सडक भासिएपछि पूर्ण रूपमा बन्द छ । भोटेकोशी गाउँपालिका–४ को जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

दोलखाको लामोसाँघु–रामेछाप सडकसमेत तामाकोशी गाउँपालिका–५ किर्नेटारमा नदीले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र हिँड्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । यात्राका क्रममा आवश्यक सतर्कता अपनाउनसमेत प्रहरीले भनेको छ ।