जापानको आइची र नागोया सहरमा हुन लागेको २०औँ एसियाली खेलकुदका लागि नेपाली टोलीको आकार अन्तिम रूपमा तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २२ खेलमा १३६ खेलाडी सहभागी गराउने निर्णय गरेको हो।
राखेपले तय गरेको टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी छन्। उनीहरूसँगै ३२ प्रशिक्षकसमेत रहनेछन्, जसअनुसार नेपाली टोलीको कुल सदस्य सङ्ख्या १६८ पुग्छ। खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार २२ खेलका लागि कोटा आधिकारिक रूपमा निर्धारण भइसकेको छ।
प्रतियोगिता आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ।
सहभागिता हुने खेल र खेलाडीको सङ्ख्या
नेपालले टिम खेलतर्फ कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्नेछ। सबैभन्दा धेरै खेलाडी कबड्डीमा सहभागी हुनेछन् — पुरुष र महिला दुवै टोली गरी २४ जना। यस्तै पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी समावेश छन्।
व्यक्तिगत स्पर्धातर्फ उसुमा सर्वाधिक ११ खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एक जना मात्र खेलाडीले प्रतिस्पर्धा गर्नेछ। आर्चरी (२), एथलेटिक्स (६), ब्याडमिन्टन (४), बक्सिङ (७), साइक्लिङ (२), गल्फ (४), जुडो (६), कराते (८), सफ्ट टेनिस (४), स्क्वास (२), पौडी (५), टेबलटेनिस (६), टेनिस (५) र कुस्ती (६) मा नेपालले पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा गराउने भएको छ।
क्यानोइ स्लालोम (२), स्केटबोर्ड (२) र तेक्वान्दो (२) मा भने पुरुष खेलाडीको मात्र सहभागिता रहनेछ।
इ-स्पोर्ट्स भने बाहिरियो
सुरुमा यस पटक २३ खेलमा करिब १४० खेलाडी सहभागी गराउने तयारी रहेको बताइएको थियो। तर छनोट चरण उत्तीर्ण गरेको इ-स्पोर्ट्स अन्तिम समयमा प्रतियोगिताबाट बाहिरिएपछि खेलको सङ्ख्या २२ मा सीमित भएको हो।
विगतका एसियाडमा नेपालको प्रदर्शन
सन् २०२३ मा चीनको हाङझाउले १९औँ संस्करण आयोजना गर्दा नेपालका २९ खेलका २५३ खेलाडीले सहभागिता जनाएका थिए, जसमा १२६ पुरुष र १२७ महिला थिए। उक्त संस्करणमा नेपालले करातेकी एरिका गुरुङको रजत र महिला कबड्डी टोलीको कांस्यसहित दुई पदक जितेको थियो।
एसियाली खेलकुदको पहिलो संस्करणदेखि सहभागी नेपालले अहिलेसम्म २६ पदक जितेको छ, जसमा ३ रजत र २३ कांस्य छन्। तर स्वर्ण पदक भने नेपालले अहिलेसम्म हात पार्न सकेको छैन।
