नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले पार्टीको आगामी राष्ट्रिय भेलाले देशका सामु रहेका चुनौती सामना गर्ने र सबै कांग्रेसजनलाई एकतावद्ध गर्ने बताएका छन्। आयोजक समितिको तर्फबाट भएको पत्रकार सम्मेलनमा उनले भेलाको मूल उद्देश्यबारे जानकारी दिए।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत मान्यतालाई आत्मसात् गर्दै पार्टीलाई नयाँ कार्यदिशासहित नयाँ जीवन दिने दृढ संकल्प उनले व्यक्त गरे। संयोजक डा कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न श्रावण २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेला नरोकिने पनि स्पष्ट पारे।
भेलामा देउवाको सम्बोधन
उक्त राष्ट्रिय भेलालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। डा कोइरालाले भेलाको तयारीबारे समेत संक्षिप्त जानकारी गराएका थिए।
सर्वोच्चको पुनरावलोकन अनुमतिप्रति विश्वास
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको अनुमतिलाई डा कोइरालाले स्वागत गरेका छन्। उनले पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय प्राप्त गर्नेमा विश्वस्त रहेको बताए।






