२४ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगको लुम पुनः चलेको छ। नेपाली सेनाको प्राविधिक सहयोगमा पुराना मेसिन मर्मत गरी शनिबार प्रारम्भिक परीक्षण उत्पादन सफल भएको हो। उद्योग पुनः सञ्चालनको सम्भावना बढेको छ।
सरकारले उद्योग मर्मत गरेर सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौंले उद्योग परिसरको सरसफाइदेखि मेसिन मर्मतसम्मका काम गरेको छ। करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक विगत ४० दिनदेखि उद्योग सञ्चालनका लागि खटिइरहेका छन्।
उत्पादन निर्देशनालयका एक अधिकृतले परीक्षण उत्पादन सफल भएको र थप काम बाँकी रहेको बताए। उनका अनुसार प्रारम्भिक उत्पादन परीक्षण सफल भएकाले उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने आधार तयार भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने समयसीमा दिइएकामा तोकिएकै अवधिमा काम सुरु भएको बताए। उनका अनुसार सफल परीक्षणले उद्योग पूर्ण सञ्चालनको संकेत दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले उद्योगभित्र रहेका पुराना तानहरू मर्मत गरी परीक्षण उत्पादन सुरु भएको जानकारी दिएका छन्। उद्योगमा सुरक्षार्थ खटिएकी सशस्त्र प्रहरीकी महिला प्रहरीले उद्योग परिसरमा बिहानैदेखि तानको खट्खट् आवाज सुनिएको बताइन्।
यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले परीक्षण उत्पादनका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना सरकारलाई बुझाएको थियो। उद्योगभित्रको विद्युत् प्रणाली मर्मत गरिसकिएको छ।
रुग्ण उद्योग सञ्चालनको तयारी
चालु आर्थिक वर्षभित्रै उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगलाई रुग्ण उद्योगमध्ये प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने बताएकी छन्। उनले बुटवल धागो कारखाना र कपास खेतीलाई पनि अघि बढाउने बताएकी थिइन्। सरकारले गत असार १८ गते हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
प्रारम्भिक कामका लागि ३३ लाख रुपैयाँ बजेट माग गरिएकामा ३० लाख रुपैयाँ उपलब्ध गराइएको सहसचिव सुवेदीले बताए। दीर्घकालीन रूपमा उद्योगलाई व्यवस्थित बनाउन नयाँ मेसिनरी खरिद र ठूलै सुधार आवश्यक पर्ने प्राविधिकहरूको आकलन छ। सरकारको एक सय दिने कार्यसूचीमा पनि यो उद्योग रहेको थियो।
सेनाको विस्तृत प्रतिवेदन
नेपाली सेनाले उद्योग पुनः सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो। प्रतिवेदनमा प्रारम्भिक लागत १ अर्ब ९३ करोड रुपैयाँ र वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ हुने अनुमान छ। उद्योग सञ्चालनमा आएको ९ वर्षपछि लागत उठेर नाफामा जान सक्ने निष्कर्ष प्रतिवेदनमा छ।
उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा र आवश्यक न्यूनतम पूर्वाधार विद्यमान छन्। अधिकांश कच्चा पदार्थ देशभित्रै उपलब्ध हुने तथा नेपाली सेना र सरकारी कर्मचारीको लत्ताकपडाको माग समेत यही उद्योगबाट पूर्ति हुने भएकाले बजारको समस्या नहुने प्रतिवेदनमा उल्लेख छ। आवश्यक बजेट नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा रहने बताइएको छ।
सेनाले तीन वर्षे कार्यतालिकासहितको मोडालिटी प्रस्ताव गरेको थियो। पहिलो वर्ष नीतिगत निर्णय, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी र मेसिन खरिद, दोस्रो वर्ष पूर्वाधार र मेसिन खरिद गरी परीक्षण उत्पादन, तेस्रो वर्ष क्षमता विस्तार र नियमित उत्पादनको तालिका थियो। तर राजनीतिक परिवर्तनलगायतका कारण उक्त मोडालिटीअनुसार काम अघि बढ्न सकेको थिएन।
इतिहास र बन्द हुनुका कारण
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापित यो उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र आर्थिक दायित्व बढेपछि २०५६ सालदेखि उत्पादन ठप्प भएको थियो। २०५७ सालदेखि पूर्ण रूपमा बन्द उद्योगलाई २०५९ सालमा तत्कालीन सरकारले बन्द गर्ने औपचारिक निर्णय गरेको थियो।
बजार व्यवस्थापन हुन नसक्नु, प्रविधि समयसापेक्ष आधुनिकीकरण नगरिनु, लोडसेडिङको समस्या, आवश्यकताभन्दा बढी जनशक्तिबाट परेको आर्थिक भार र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग धराशायी बनेको बताइन्छ।
उद्योग सञ्चालनमा आए नेपाल कपडा उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।



