कोरोना महामारीका कारण चीनले तिब्बत प्रवेशमा रोक लगाएपछि करिब सात वर्षदेखि ठप्प रहेको बझाङ–तिब्बत सीमापार व्यापार पुनः सुरु भएको छ। चीनले परम्परागत सामूहिक व्यापारका लागि प्रवेश अनुमति दिएसँगै बझाङको साइपाल र तलकोट गाउँपालिकाका ४३ जना व्यापारी हस्तकलाका सामग्री लिएर तिब्बतको ताक्लाकोट बजार पुगेका छन्।
व्यापारीहरू समुद्री सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा रहेको उरै भञ्जाङ नाघ्दै छ दिनको पैदल यात्रापछि ताक्लाकोट पुगेका हुन्। उनीहरूले डोका, बन्चरो र हँसियाका बिंड, निगालोका डाला (ल्याक्च्या), टिमुरलगायत स्थानीय उत्पादन बजारमा लगेका छन्।
तिब्बतको पुलान काउन्टी प्रशासनले व्यापारीका लागि छुट्टै स्थान तोकेको छ। सोही स्थानमा बजार थापेर सामान बिक्री भइरहेको साइपाल गाउँपालिकाका हरिभान बोहराले बताए। उनका अनुसार बझाङबाट मात्र करिब तीन हजार पाँच सय डोकाडाला ताक्लाकोट पुर्याइएको छ। कतिपय व्यापारीले काठका सामान, टिमुर र दाल पनि लगेका छन्।
बजारमा मूल्य र बिक्री
ताक्लाकोट बजारमा बझाङका डोकाडाला र हस्तकलाका सामानले राम्रै मूल्य पाइरहेको व्यापारीहरू बताउँछन्। तलकोट गाउँपालिकाबाट गएका भीम जेठाराका अनुसार एउटा सामान्य डोको ७० चिनियाँ युआन (करिब एक हजार छ सय रुपैयाँ) र बन्चरोको बिंड ३० युआनसम्ममा बिक्री भइरहेको छ। अन्न राख्न मिल्ने ल्याक्च्याको भने दुई सय १५ युआन (करिब पाँच हजार रुपैयाँ)सम्ममा खरिदबिक्री हुने गरेको छ।
मोलमोल गरेर बिक्री हुने भएकाले सामानको गुणस्तर हेरेर मूल्य तलमाथि हुने जेठाराले बताए। बझाङको स्थानीय बजारको तुलनामा ताक्लाकोटमा सात÷आठ गुणासम्म बढी मूल्य पाइने उनको भनाइ छ।
तर, छ दिनको पैदल यात्रा, ढुवानी र श्रमको लागत कटाएपछि भने आम्दानी ठिकठिकै मात्र हुने साइपालका वसन्त बोहराले बताए। उनका अनुसार फाइदा कमाउनुभन्दा पनि पुर्ख्यौली व्यापारको परम्परा कायम राख्न व्यापारीहरू ताक्लाकोट पुगेका हुन्।
ग्राहकको चासो घट्यो
व्यापार खुले पनि तिब्बती ग्राहकको भीड भने पहिलेजस्तो देखिएको छैन। लामो समयदेखि नाका बन्द हुँदा व्यापारको श्रृंखला टुटेकाले बझाङका व्यापारी आइपुगेको भन्ने सूचना गाउँगाउँमा पुर्याउन समय लागिरहेको वसन्त बोहराले बताए। परम्परागत हस्तकलाका सामानभन्दा प्लास्टिक, टिन र अन्य आधुनिक सामग्रीको प्रयोग बढेकाले पनि ग्राहकको चासो घटेको हुनसक्ने व्यापारीहरूको अनुमान छ।
साइपालका भक्त बोहराका अनुसार पहिले व्यापारीहरूले ल्याएको सामान एक÷दुई दिनमै सकिन्थ्यो, अहिले त्यस्तो भीड नभए पनि व्यापार भने निराशाजनक छैन। साउने तेस्रो साता ताक्लाकोट पुगेका व्यापारीहरू भदौको पहिलो साता फर्किने योजनामा रहेको केब्जन बोहराले जानकारी दिए।
धार्मिक परम्परा बन्द
बझाङबाट हरेक वर्ष साउनमा हस्तकलाका सामग्री, मसला र जडीबुटी लिएर ताक्लाकोट पुग्ने र फर्किँदा तिब्बती नुन, मदिरा, विद्युतीय सामान, लत्ताकपडा र जुता ल्याउने चलन छ। व्यापार खुला भए पनि मानसरोवर तालमा स्नान गर्न र त्यहाँको जल ल्याउन भने चीनले अनुमति दिएको छैन। मानसरोवरको जल चढाएर मात्र पूरा हुने कुल पूजाको परम्परा सात वर्षदेखि रोकिएको छ।
बर्खामा तिब्बतका जंगलमा भेडाच्याङ्ग्रा र चौंरी चराउन लैजाने परम्परागत अभ्यासमा पनि चिनियाँ सुरक्षाकर्मीले अवरोध गर्ने र गोठालामाथि दुर्व्यवहार हुने गरेको स्थानीयको गुनासो छ। यी विषयमा चीनका सीमावर्ती अधिकारीसँग समन्वय गर्न बझाङ प्रशासनले पटकपटक प्रयास गरे पनि सफलता मिलेको छैन।
नाका खुलेसँगै बझाङ र तिब्बतबीचको पुख्र्यौली सम्बन्ध पुनर्जीवित हुने सीमावर्ती पालिकाका स्थानीयले विश्वास गरेका छन्। साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले ताक्लाकोट र आसपासका गाउँसँग व्यापारिक, धार्मिक, चरिचरन र मितेरी सम्बन्ध रहेको बताए। नाका बन्द हुँदा ती सबै टुटेको भन्दै उनले व्यापार खुलेकाले बिस्तारै अन्य पक्ष पनि सहज हुने आशा व्यक्त गरे। उनले दुई देशका स्थानीयबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल सरकारले सार्थक कूटनीतिक पहल गर्नुपर्ने बताए।



