चलचित्र ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक भएको छ। २५ वर्षअघि सार्वजनिक भएको यही गीतलाई फिल्मका लागि पुनःसिर्जना गरिएको हो। अभिनेता तथा निर्देशक दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत गीतमा फिचर्ड भएकी प्रियंका कार्कीलाई शुभकामना दिँदै प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्—
यो हो नि तरिका। तिमीलाई यस्तै सुहाउँछ! धेरै राम्रो छ शुभकामना प्रियंका, वर्षा लगायत सबैलाई।
२५ वर्षपछिको पुनःसिर्जना
२५ वर्षअघि सार्वजनिक ‘गुराँस फुल्दा’मा भुवन केसी र सुस्मिता केसी मुख्य भूमिकामा थिए। साधना सरगमको स्वर रहेको मूल गीतमा दयाराम दाहालले शब्द लेखेका थिए भने सचिन सिंहले संगीत दिएका थिए। रि-क्रिएसनमा भने बसन्त सापकोटाको संगीत छ भने मेलिना राईले स्वर दिएकी छन्।
नयाँ भिडिओमा प्रियंका कार्की र वर्षा राउतलाई देख्न सकिन्छ।
‘मास्टर्नी’को दोस्रो गीत
यसअघि फिल्मको प्रमोशनल गीत ‘म्याथ सिक्ने भए’ सार्वजनिक हुनासाथ विवादमा तानिएको थियो। ‘गुराँस फुल्दा’ भने फिल्मको दोस्रो गीत हो।
सुवेन्दु घोष निर्देशित फिल्म ५ भदौदेखि प्रदर्शनको तयारीमा छ। आयंका फिल्मस्को प्रस्तुतिमा बनेको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री विधाको सिनेमा हो।

