काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकीबाट अपहरणमा परेका एक युवकलाई सकुशल उद्धार गरेको छ । उद्धार गरिएका युवक नवीन राय हुन् । उनलाई बन्धक बनाएर १८ लाख रुपैयाँ फिरौती र क्रिप्टो कारोबारको पासवर्ड माग गर्दै कुटपिट गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार साउन २८ गते कलंकीको भेटघाट क्याफेबाट रायलाई जबरजस्ती अपहरण गरी नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा लगेर राखिएको थियो । अपहरणकारी समूहले उनलाई अर्धनग्न बनाई प्लास्टिक पाइपले कुट्दै गर्दा प्रहरीको टोली घटनास्थल पुगेको थियो । घरबाट उद्धार गरिएका रायका हातखुट्टा नाइलनको डोरीले बाँधिएको अवस्था थियो । घटनास्थलबाट कुटपिटमा प्रयोग भएको पाइप, डोरी र चक्कुसमेत बरामद गरिएको छ । रायको शरीरभरि चोटपटकका निलडाम देखिएको थियो ।
पक्राउ परेका सात जना
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पक्राउ परेका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
अपहरणको योजना
अपहरणको मुख्य योजनाकार मनोज बुढाथोकी रहेको प्रहरीको भनाइ छ । फेसबुकमार्फत बुढाथोकीको रोहित नाम गरेका एक भारतीय नागरिकसँग सम्पर्क भएको थियो । रोहितले डलर कार्डमा लोड गर्ने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखेका थिए । डलरको भाउ बढी दिने प्रलोभन देखाउँदै बुढाथोकीलाई सहयोग गर्न रोहितले नै नवीन रायलाई पठाएको बताइन्छ ।
क्याफेमा सहयोग गर्न पुगेका रायलाई समूहले धारिलो हतियार देखाउँदै ट्याक्सीमा हालेको थियो । बुढाथोकीसमेत चढेको सो ट्याक्सीलाई केही व्यक्तिले मोटरसाइकलबाट पछ्याउँदै छेग्डोलस्थित घरसम्म पुर्याएका थिए । बन्धक राखिएको घर उनीहरूले अनलाइन व्यवसाय गर्ने भन्दै भाडामा लिएको पाइएको छ ।
रायलाई घरमा बन्धक बनाएपछि कुटपिट गर्दै परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरिएको थियो । साथै, क्रिप्टो कारोबारको पासवर्डसमेत माग गर्दै यातना दिइएको प्रहरी अधिकारीहरू बताउँछन् ।
उद्धार
यसबारे सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरबाट खटिएको टोलीले साउन २८ गते नै उद्धार गरेको थियो । दिउँसो करिब २ बजे अपहरणमा परेका रायलाई प्रविधिक विश्लेषण र सूचना संकलनको आधारमा साँझ साढे ६ बजे सकुशल उद्धार गरिएको कार्यालयले जनाएको छ ।
उद्धारपछि प्रहरीले बुढाथोकीको भूमिका मुख्य देखिएको बताएको छ । उनले नै रोहितसँग सम्पर्क गर्नेदेखि क्याफेमा पुगेर रायलाई अपहरण गर्ने काम गरेका थिए । प्रदीप पोखरेलले निगरानी गर्नेदेखि रायलाई ट्याक्सीमा राख्न र घरसम्म पुर्याउन सहयोग गरेका थिए । निमेश कार्की र देवकुमार श्रेष्ठलाई थप सहयोगका लागि क्याफेमा बोलाइएको थियो भने जेनिश चौधरी र निशान रुम्बा तामाङ बुढाथोकीकै कार्यालयमा काम गर्ने र बन्धक राखिएकै घरमा बस्ने व्यक्ति हुन् । सातै जनाको मिलेमतोमा अपहरण तथा कुटपिट भएको प्रहरीको निष्कर्ष छ ।






