गाईघाट, २१ अगस्ट । उदयपुरको बेलका नगरपालिकामा स्थानीय बासिन्दाको नागरिकताको फोटोकपी दुरुपयोग गरी इ–सेवा र बैंक खाता खोलेर रकम कारोबार गरेको आरोपमा प्रहरीले बुबा–छोरालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलका–४ का रितेश खत्री र उनका बुबा प्रकाश खत्री रहेका छन्। बेलका–३ र ४ का करिब ४४० बासिन्दाले आफूहरूले बुझाएको नागरिकताको फोटोकपी दुरुपयोग भएको भन्दै उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन्।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार आरोपितहरूले उपभोक्ता समिति गठन गरी सरकारी अनुदान दिलाइदिने, विकास आयोजनामा सहभागी गराउने र रोजगारीको अवसर दिने प्रलोभन देखाएर करिब ५०० स्थानीय बासिन्दाको नागरिकताको फोटोकपी सङ्कलन गरेका थिए। सङ्कलनका क्रममा खिचिएका तस्बिरसमेत प्रयोग गरी ती बासिन्दाकै नाममा इ–सेवा खाता र विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलिएको उनको भनाइ छ।
आफूले नखोलेका खाता र इ–सेवामा भएको कारोबारबारे सूचना आउन थालेपछि स्थानीय बासिन्दालाई नागरिकताको दुरुपयोग भएको थाहा भएको थियो।
अनुसन्धानमा २३८ जनाका नाममा इ–सेवा र बैंक खाता खोलिएको पाइएको छ, जसमध्ये १४७ इ–सेवा खाता छन्। मेयर कार्कीका अनुसार बेलका–३ की एक महिलाको खाताबाट ८४ लाख रुपैयाँ, वडा नं ४ की एक महिलाको खाताबाट ४६ लाख ९६ हजार रुपैयाँ र अर्की महिलाको खाताबाट २३ लाख रुपैयाँको कारोबार भएको पाइएको छ।
उजुरीपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र वैदेशिक रोजगार विभागका टोलीसमेत अनुसन्धानमा सहभागी भएका छन्। एक प्रहरी अधिकारीका अनुसार अनुसन्धानकर्ताहरूले खाताहरूको कारोबार विवरण र रकमको स्रोत, खत्री बुबा–छोराबाहेक अरू कोही संलग्न छन् वा छैनन् र अरू व्यक्तिका नाममा खोलिएका खातामार्फत करोडौं रुपैयाँको कारोबार किन भयो भन्ने विषयमा छानबिन गरिरहेका छन्।







