मुख्य सामग्रीमा जानुहोस्

गरिमा चौधरीको हत्यापछि बुटवलमा महिला प्रदर्शन, कडा कारबाहीको माग

बाराकी तीन वर्षीया गरिमा चौधरीको हत्यामा न्यायको माग गर्दै बुटवलमा महिलाहरूले प्रदर्शन गरे । प्रदर्शनकारीले दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गरिमा चौधरीको हत्यापछि बुटवलमा महिला प्रदर्शन, कडा कारबाहीको माग
Online Khabar

जितपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया गरिमा चौधरीको हत्याप्रति बुटवलमा आक्रोश फैलिएको छ । गरिमालाई न्याय दिनुपर्ने मागसहित शनिबार महिला अधिकारकर्मीहरू सडकमा प्रदर्शनमा उत्रिएका थिए ।

ट्राफिकचोकबाट सुरु भएको प्रदर्शन उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो । प्रहरी कार्यालयको गेट बाहिर प्रदर्शनकारीले नाराबाजी गर्दै गरिमालाई न्याय दिन माग गरे । उनीहरूले बलात्कारीमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । प्रदर्शनमा ठूलो संख्यामा महिलाहरूको सहभागिता थियो ।

गरिमा गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी थिइन् । उनको शव मंगलबार साँझ जितपुरसिमरा–१ स्थित भक्तिनगरको एउटा घरको खाली कोठाबाट फेला परेको थियो । वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको सो खाली कोठामा बालिकाको शव भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमा बेपत्ता भएपछि जितपुरसिमरा–२ का १६ वर्षीय सुमन थापाले उनलाई चकलेट दिएर ललाइफकाई घटनास्थलसम्म लगेका थिए । घटनामा संलग्न आरोपमा थापासहित ना १ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरी पनि पक्राउ परेका छन् ।

घटनाको वास्तविक कारण, अन्य व्यक्तिको संलग्नता र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागीहरूले भने घटनाको पूर्ण छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने माग दोहोर्‍याएका छन् ।