भदौ ७, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तमा रहेको मध्यपहाडी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार मृतकमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारबाट आएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन्।
आमा–छोरी क.प्र. ०२००१ ख १०७० नम्बरको गाडीमा मुसिकोट खलंगाबाट सुर्खेततर्फ जाँदै थिए। बाटोमा छोरीलाई शौच गराउनका लागि उनीहरू गाडीबाट झरेका थिए। त्यही बेला सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले उनीहरूलाई ठक्कर दिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याइएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







