सर्लाहीको बारहथवा नगरपालिका–७ मा एक किराना पसल सञ्चालकको शव पुलेसोमुनिको नालीमा भेटिएको छ। मृत्युको कारण खुल्न नसकेपछि परिवारले हत्या भएको आशंका गरेको छ।
बारहथवा–३ भगवतीपुरका ४६ वर्षीय राजेश्वर पुरीले टिंघरियामा किराना पसल चलाउँदै आएका थिए। आइतबार राति उनी गाउँमै आयोजित छठियार भोजमा सहभागी भएका थिए। त्यसपछि उनी घर नफर्किएको र सोमबार बिहान पुलेसोमुनि शव फेला परेको प्रहरीले जनाएको छ।
परिवारका सदस्यहरूले भोजमा जबरजस्ती मदिरा सेवन गराएर हत्या गरिएको हुनसक्ने आरोप लगाएका छन्। पसलमा ऋण तिर्न बाँकी रहेका ग्राहकहरूको संलग्नता हुनसक्ने उनीहरूको आशंका छ। तर प्रहरीले हत्याको पुष्टि भने गरेको छैन।
बारहथवा क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा रहेको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट संदिग्ध अवस्थाको तत्काल संकेत भने नदेखिएको हो।
पुरीको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको छ। प्रतिवेदनपछि मृत्युको वास्तविक कारण खुल्ने र सोहीअनुसार थप अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ।







