मुख्य सामग्रीमा जानुहोस्

वर्षभरि दश वर्षमुनिका औसत २५० बालिका बलात्कृत, पीडक प्रायः चिनेजानेकै व्यक्ति

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा दश वर्षमुनिका बालिका बलात्कारका घटना वार्षिक सरदर २५० भन्दा बढी छन् । यीमध्ये अधिकांश घटनामा पीडक पीडितकै चिनेजानेका र आफन्तजन रहेको अनुसन्धानले देखाएको छ ।

विश्वपत्र संवाददाता

· ५ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
वर्षभरि दश वर्षमुनिका औसत २५० बालिका बलात्कृत, पीडक प्रायः चिनेजानेकै व्यक्ति
Online Khabar

बाराको जितपुरसिमरामा गत भदौ २ गते तीन वर्षीया बालिका बलात्कारपछि मृत फेला परेको घटनाले देशव्यापी चर्चा पाइरहँदा प्रहरीको तथ्यांकले १० वर्षमुनिका बालिकामाथि हुने बलात्कारका घटना वर्षेनी सरदर २५० भन्दा बढी रहेको देखाएको छ । यस्ता अधिकांश घटनामा आरोपित पीडितकै चिनेजानेका व्यक्ति रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

जितपुरसिमरा–१ को दशधुरे सुकुम्बासी बस्तीमा गत साउन ३१ गते बिहान करिब आठ बजे ती बालिका बेपत्ता भएकी थिइन् । सँगै बसेकी बालिका अचानक नदेखिएपछि परिवारले तीन घण्टासम्म खोजी गर्‍यो तर पत्ता लागेन । पथलैया र सिमरा प्रहरी कार्यालयमा उजुरी दिइए पनि प्रहरीले बालिकाको भेउ पाउन सकेन । बेपत्ता भएको दुई दिनपछि भदौ २ गते साँझ सवा पाँच बजेतिर जितपुरसिमरा–१ को भक्तिनगरमा रहेको एउटा खाली घरभित्र बालिकाको शव भेटियो ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार सो घर वीरबहादुर रोकाको टायलले छाएको एक तले घर हो । शव भेटिएपछि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीको कमान्डमा सोको टोली र जिल्लाबाट एसपी नरेन्द्र कुँवरको टोली घटनास्थल पुगेका थिए । प्रदेश प्रहरी कार्यालय पर्साबाट तालिमप्राप्त कुकुर ल्‍याएर अनुसन्धान थालिएको थियो । कुकुरले संकेत गरेपछि सोही दिन १६ वर्षीय एक किशोर पक्राउ परे ।

जितपुरसिमरा–१ कै ती किशोरले ना१ज ७७५८ नम्बरको गाडीमा सहचालकका रूपमा काम गर्ने गरेको पाइएको थियो । प्रारम्भिक सोधपुछमा उनले चकलेट दिएर बालिकालाई फकाई लगेको, बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । यसै प्रकरणमा उक्त गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरीलाई पनि पक्राउ गरिएको छ । हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

मृतक बालिका र चालक प्रोग्रेस चौधरीको घर नजिकै छ । प्रोग्रेसकै घरमा बालिका आउजाउ गर्ने गर्थिन् भने सहचालक किशोर पनि त्यही घरमा आउजाउ गर्थे । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी ओम अधिकारी दुवैबीच पूर्वचिनजान रहेको घटनाका रूपमा अनुसन्धान अघि बढेको बताउँछन् । एक अनुसन्धान अधिकारीका अनुसार प्रोग्रेसकै घरमा बालिकामाथि बलात्कार गरी कपडाले बेरेर शव फालिएको देखिएको छ ।

बालिकाका आमाबुवा काठमाडौं आएर गृहमन्त्री सुधन गरुङसँग भेट गर्‍यपछि मात्रै दाहसंस्कार गरिएको थियो ।

मोरङ र रोल्पामा पनि

बाराको घटनाजस्तै मोरङमा सुनवर्षी नगरपालिकामा कार्यरत वडासचिव ३१ वर्षीय ईश्वरराज रेग्मी बालिका बलात्कारको आरोपमा पक्राउ परेका थिए । गत मंसिरमा एक बालिकालाई बलात्कार गरेको आरोप लागेका उनलाई २१ मंसिरमा प्रहरीले पक्राउ गरेको थियो । साथीको जन्मदिन मनाउने भन्दै घरबाट निस्किएकी ती बालिका घर नफर्किएपछि परिवारले खोजी गर्दै प्रहरीसम्म पुर्‍याएको थियो । बालिकाले आफूमाथि बलात्कार भएको बताएपछि वडासचिवविरुद्ध अनुसन्धान अघि बढाइएको थियो ।

यस्तै, गत चैतको तेस्रो साता रोल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङका शिक्षक ठगेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । उनले नाबालिकालाई प्रलोभनमा पारेर एकान्तमा बोलाएर बलात्कार गरेको आरोप थियो ।

यी तीनवटै घटनामा पीडित र आरोपितबीच पूर्वचिनजान रहेको प्रहरी अधिकारीहरू बताउँछन् । “प्रहरीमा आएका घटना सार्वजनिक गर्नुको उद्देश्य यस्ता घटना नदोहोरियून् भन्ने सचेतना फैलाउनु र अपराधी कानुनको दायरामा आउने सन्देश दिनु हो,” नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन् ।

पाँच वर्षको तथ्यांकमा सरदर २५०

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा १० वर्षमुनिका बालिका बलात्कृत हुने दर झिनो मात्रामा घटे पनि संख्यात्मक रूपमा अझै उच्च छ । आर्थिक वर्ष २०७८/७९ मा २६८ जना, २०७९/८० मा २५९ जना, २०८०/८१ मा २५२ जना, २०८१/८२ मा २१७ जना र २०८२/८३ मा २२१ जना दश वर्षमुनिका बालिका बलात्कृत भएका छन् । सरदर हेर्दा प्रत्येक वर्ष २५० भन्दा बढी बालिका यस अपराधको सिकार हुने देखिन्छ ।

बलात्कार आरोपमा १० वर्षमुनिका बालक पक्राउ पर्ने आंकडा भने न्यून छ । २०८२/८३ मा ७ जना, २०८१/८२ मा २ जना, २०८०/८१ मा १६ जना, २०७९/८० मा २ जना र २०७८/७९ मा ३ जना दश वर्षमुनिका बालकविरुद्ध मुद्दा चलेको प्रहरी रेकर्ड छ ।

उमेर समूहअनुसार हेर्दा ११ देखि १६ वर्षका बालिका सबैभन्दा बढी पीडित देखिन्छन् । गत आर्थिक वर्ष २०८२/८३ मा यो उमेर समूहका ९६६ बालिका बलात्कृत भए । यसअघिका वर्षहरूमा पनि यही उमेर समूहका बालिकाको संख्या नौ सयको हाराहारीमा छ । किशोरावस्थामा सजिलै प्रलोभनमा पर्ने र भरोसा गर्ने भएकाले यो उमेर समूह बढी जोखिममा रहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

समग्रमा हरेक वर्ष करिब २४ सय जना बलात्कारको सिकार हुने गरेको प्रहरी तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै २३९५ जना बलात्कृत भए, जसमध्ये १८ वर्षमुनिका १५१० र सोभन्दा माथिका ८८५ जना थिए । अन्य आर्थिक वर्षमा पनि कुल पीडितमध्ये १८ वर्षमुनिकाको संख्या झण्डै दोब्बर रहेको देखिन्छ । प्रहरी रेकर्डमा मुद्दा दर्ता भएका घटना मात्रै समेटिने गर्छन् । कतिपय घटना सार्वजनिक नै नगरी गुपचुप मिलापत्र हुने गरेकाले वास्तविक संख्या योभन्दा बढी हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

आरोपिततर्फ सबैभन्दा बढी १९ देखि २५ वर्ष उमेर समूहका युवा रहेका छन् । गत आर्थिक वर्ष बलात्कार आरोपमा पक्राउ परेका २२२८ जनामध्ये ९५४ जना यही उमेर समूहका थिए । २०८१/८२ मा २१६१ जना पक्राउ परेकामध्ये ९०३ जना र २०८०/८१ मा २३५८ जनामध्ये ९७७ जना १९ देखि २५ वर्ष उमेरका रहेको तथ्यांक छ ।

चिनेजानेका व्यक्तिबाटै बढी जोखिम

बलात्कारका अधिकांश घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको सीआईबीमा काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । नाबालिकाको हकमा झनै अधिकांश घटना चिनेजानेका व्यक्ति र आफन्तकै कारण हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै टाढा नजाने, घर वरपर खेल्ने र बस्ने भएकाले उनीहरूमाथि चिनेजानेकै मान्छेबाट बलात्कारको जोखिम बढी हुने उनीहरूको भनाइ छ ।

अपराधशास्त्रमा स्नातकोत्तर गरेका नेपाल प्रहरीका पूर्वएसएसपी दिनेशराज मैनाली भन्छन्, “बच्चाको लालनपालनदेखि संगतसम्ममा परिवार सचेत हुनुपर्छ, बच्चाले सही दिशा लिएको छ कि छैन भन्नेमा ध्यान दिनुपर्छ ।” यौन शिक्षामा खुलापन आवश्यक रहेको उनको भनाइ छ ।

वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारी भने किशोर अपराधलाई सामाजिक, मनोवैज्ञानिक र मानसिक स्वास्थ्यको कोणबाट बुझ्नुपर्ने बताउँछन् । “डिजिटल सामग्रीको प्रभाव, पारिवारिक बिखण्डन, हुर्काइ र शिक्षाका पक्षहरू जोडिएर आउँछन्,” उनी भन्छन्, “कतिपयमा असामाजिक व्यक्तित्व विकास हुँदै गएर जोखिमपूर्ण व्यवहार देखिन्छ ।”

बाराको घटनापछि अर्की दुई वर्षीया बालिका बेपत्ता भएकी थिइन्, जो १२ घण्टापछि सकुशल फेला परेकी थिइन् । यस्ता घटनामा अभिभावकले आफ्ना बच्चा कहाँ जान्छन्, कोसँग बस्छन् भन्ने कुरामा विशेष ध्यान दिन आवश्यक रहेको प्रहरीको भनाइ छ । दश वर्षमुनिका बालिका बलात्कारका घटना न्यूनीकरण गर्न समुदायस्तरमै सतर्कता बढाउनुपर्ने देखिन्छ ।