मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी प्रभावित घाइतेका लागि अस्पतालहरू तयारीमा

रसुवामा तिब्बततिरबाट आएको बाढीका कारण प्रभावित घाइतेको उपचारका लागि सरकारले अस्पतालहरू तयारी अवस्थामा राखेको छ। सामान्य घाइतेका लागि स्थानीय अस्पताल र गम्भीर घाइतेका लागि राजधानीका ६ अस्पताल तयार छन्। चिकित्सकसहितको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
रसुवा बाढी प्रभावित घाइतेका लागि अस्पतालहरू तयारीमा
Nagariknetwork

तिब्बततिरबाट आएको बाढीका कारण रसुवामा घाइते भएकाहरूको उपचारका लागि सरकारले राजधानी र स्थानीय अस्पतालहरूलाई तयारी अवस्थामा राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हल्का घाइतेको उपचार स्थानीय अस्पताल र गम्भीर घाइतेको उपचार राजधानीका ठूला अस्पतालमा हुने गरी तयारी गरेको हो।

मन्त्रालयका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय ट्रमा सेन्टरसहित ६ अस्पताललाई गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। यी अस्पतालहरू तयारी अवस्थामा रहेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताए।

सबै घाइतेलाई ती अस्पतालमा ल्याएर उपचार गर्ने तयारी रहेको र प्रभावित क्षेत्रमा चिकित्सकसहितको हेलिकप्टर परिचालन भइसकेको मन्त्रालयले जनाएको छ।

वीर अस्पतालले आकस्मिक कक्षमा उपचाररत बिरामीलाई अन्यत्र व्यवस्थापन गरी ४० वटा वेड खाली राखेको छ। अस्पतालका सहायक निर्देशक डा. अपार लामिछानेका अनुसार आकस्मिक कक्षमा खाली वेड, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राखिएका छन्। आवश्यकता अनुसार ४० बाहेक थप बिरामीलाई उपचार गर्न सकिने गरी तयारी भइरहेको र अस्पतालको भीड व्यवस्थापनका लागि समेत टिम तयार राखिएको उनले जानकारी दिए।

राष्ट्रिय ट्रमा सेन्टरले भने ५० जनाभन्दा बढी घाइतेको उपचार गर्न सकिने गरी तयारी गरेको अस्पतालका निर्देशक डा. रुद्र मरासिनीले बताए।

टिचिङ अस्पतालले स्वास्थ्यकर्मीलाई हेलिकप्टरबाट प्रभावित क्षेत्रमा पठाइसकेको छ। अस्पतालका सहायक निर्देशक डा. पवन आचार्यका अनुसार अस्पतालको आकस्मिक कक्ष र सबै विभागका चिकित्सक तयारी अवस्थामा राखिएका छन्।