भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका सन्दर्भमा नेपाल र चीनबीच मौसमसम्बन्धी विवरण तथा सूचना आदानप्रदान गर्ने सहमति भएको छ। जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सिएमए) बीच बुधबार भएको भर्चुअल बैठकले यस्तो सहमति जनाएको हो।
नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत सहभागी रहेको उक्त बैठकमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाबारे छलफल भएको विभागले जनाएको छ। मौसम गतिविधि र पूर्वानुमानका विषयमा आपसी सहकार्य गर्ने समझदारी बनेको बताइएको छ।
विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार छलफलमा भोटेकोशी नदीमा एक्कासि आएको बाढी, त्यसबेलाको मौसमी अवस्था, पूर्वानुमान तथा भएको क्षतिबारे कुराकानी भएको थियो। चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरण उपलब्ध गराउन सहकार्य गर्ने सहमति व्यक्त गरेको उनले बताइन्।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाल र चीन दुवैतर्फ भारी वर्षा भएको छैन। उनले भनिन्,
‘हिमताल विस्फोट, पहिरो वा अन्य कुनै कारणले नदी थुनिएर बाढी आएको हुनसक्ने सम्भावना रहे पनि त्यसको आधिकारिक पुष्ट्याइँ नभइसकेकाले दुवैतर्फको संलग्नतामा यस विषयमा थप अध्ययन हुन आवश्यक छ।’
छलफलका क्रममा चिनियाँ पक्षले तिब्बततर्फको भूभागमा ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको भन्ने पर्याप्त आधार नरहेको प्रारम्भिक धारणा राखेको विभागले जनाएको छ।
चीनतर्फको भूभागमा मौसमजन्य कुनै जोखिम वा प्रभाव देखिएमा चिनियाँ पक्षले नेपाललाई तत्काल जानकारी गराउने सहमति भएको प्रवक्ता पोखरेलले बताइन्।







