गोरखाको तालफुटेघाटमा रहेको दरौदी नदीमा बिहीबार मलामी गएका एक व्यक्ति नुहाउने क्रममा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार बेपत्ता हुनेमा अजिरकोट गाउँपालिका-४ झ्याँवाका ४० वर्षीय शम्शेर नेपाली रहेका छन्।
बिहीबार शम्शेर मलामी सकेर दरौदी नदीमा नुहाउन गएका थिए। त्यसक्रममा नदीले बगाएर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट चनौटे र ईलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी र स्थानीयको सहयोगमा बिहीबारदेखि नै खोजी सुरु गरिएको थियो। तर साँझसम्म उनको कुनै अत्तोपत्तो नभएपछि शुक्रबार बिहानदेखि पुनः खोजी कार्य थालिएको डिएसपी श्रेष्ठले बताए। खोजीका लागि प्रहरीको टोली खटिरहेको छ।







