खोटाङ जिल्लामा शनिबार दुई फरक स्थानमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। मृतकमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरीका अनुसार शान्ता राई शनिबार दिउँसो करिब ४ बजे घरबाट निस्किएकी थिइन्। उनी छाँगे खोलामा आएको बाढीले बगाएपछि राति मृत फेला परेकी हुन्। उनको शव जिल्ला अस्पताल दिक्तेलमा आइतबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।
त्यस्तै, पर्शुराम परियार खाइखुरे खहरे खोल्सा तर्ने क्रममा बाढीले बगाएका थिए। उनलाई खोल्सीले करिब १ सय मिटर तल पुर्याएको अवस्थामा राति नै मृत फेला पारिएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए। परियारको शवको पोष्टमार्टम सोमबार हुने बताइएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

