मुख्य सामग्रीमा जानुहोस्

एडिनबरामा दोस्रो नेपाली मेला सम्पन्न, नेपाली कला र संस्कृतिको प्रदर्शन

एडिनबरामा दोस्रो नेपाली मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलामा नेपाली कला, संस्कृति, खानपान र आतिथ्यलाई प्रदर्शन गरिएको थियो। करिब तीन हजार नेपाली र उल्लेख्य स्कटिस नागरिकको सहभागिता रहेको आयोजकले जनाएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

स्कटल्यान्डको राजधानी एडिनबराको केन्द्रमा रहेको प्रिन्सेस स्ट्रिट गार्डेनस्थित रोस ब्यान्डस्ट्यान्ड परिसरमा दोस्रो नेपाली मेला सम्पन्न भएको छ। नेपाली कला, संस्कृति र परम्पराले ढक्कपूर्ण उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो। विश्वप्रसिद्ध एडिनबरा क्यासलको काखमा आयोजित मेलाले दिनभर सो क्षेत्रलाई मिनी नेपालको झल्को दिएको थियो।

कार्यक्रमस्थल नेपाल र स्कटल्यान्डका राष्ट्रिय झण्डाले सजाइएको थियो। सगरमाथा र गौतम बुद्धका तस्बिरसहितका ब्यानरले नेपालको पहिचान झल्काइरहेका थिए। मौलिक नेपाली पोसाकमा सजिएका सहभागी, देउडा, झ्याउरे, साकेला, लाखेनाचलगायतका सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेका थिए।

आयोजकको सक्रियता

गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरमा जन्मिएका समाजसेवी तथा मेला मूल आयोजक समितिका सदस्य सागर भण्डारी विगत २० वर्षदेखि स्कटल्यान्डलाई कर्मथलो बनाउँदै आएका छन्। दोस्रो नेपाली मेलालाई भव्य र सफल बनाउन आयोजक टोलीले दिनरात खटेर तयारी गरेको उनले बताए। मेलामा आफू मौलिक नेवारी पोसाकमा सहभागी हुँदा विशेष गर्वको अनुभूति भएको उनले सुनाए।

भण्डारीका अनुसार यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कृति र पहिचान जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउँछन्। स्कटल्यान्डमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न पनि यी कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ।

सहभागिता र उद्देश्य

लन्डनस्थित नेपाली दूतावास र एनआरएनए स्कटल्यान्डको संयुक्त आयोजनामा भएको मेलामा स्कटल्यान्डका एक दर्जनभन्दा बढी नेपाली संघसंस्थाको सहकार्य रहेको थियो। मेलामा करिब तीन हजार नेपाली सहभागी भएको आयोजकले जनाएको छ। त्यस्तै, उल्लेख्य संख्यामा स्कटिस तथा अन्य विदेशी नागरिक पनि उपस्थित थिए।

एनआरएनए स्कटल्यान्डका अध्यक्ष शेरबहादुर केसीले यस वर्षको मेलामार्फत नेपालको पर्यटन प्रवर्द्धन, नेपाली कला–संस्कृतिको प्रवर्द्धन र स्कटल्यान्डमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने लक्ष्य राखिएको बताए।

सांस्कृतिक प्रस्तुति

नेपाल र स्कटल्यान्डको राष्ट्रिय गानपछि कार्यक्रमको उद्घाटन गरिएको थियो। स्कटिस पाइपर र नेपाली नौमती बाजासहित सांस्कृतिक परेड निकालिएको थियो। परेडमा विभिन्न नेपाली संघसंस्था र समुदायले आ–आफ्नो मौलिक संस्कृति झल्काउने प्रस्तुति दिएका थिए।

परेडपछि स्थानीय कलाकार र समुदायको सहभागितामा भजन–कीर्तन, लोकदोहोरी, झ्याउरे, साकेला, लाखेनाच र देउडालगायत प्रस्तुति गरिएको थियो। नेपालबाट आएका कलाकार प्रकाश दुतराज, इन्द्र जीसी, मञ्जु विक, शोभा त्रिपाठी र रमेशराज भट्टराईले पनि सांगीतिक प्रस्तुति दिएका थिए।

भण्डारीका अनुसार नेपाली मेलाले नेपालको कला, संस्कृति, संगीत, खानपान र आतिथ्यलाई स्कटिस समुदायमाझ चिनाउने अवसर दिएको छ। यसले नेपाल र स्कटल्यान्डबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको उनले बताए।