सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ पुरानछाप निवासी ६३ वर्षीय यमबहादुर भण्डारी साउन १ गतेदेखि बेपत्ता भएका छन्। उनी धान रोपाइँका लागि खेताला खोज्न भन्दै घरबाट निस्किएका थिए।
भण्डारीका छोरा राजुका अनुसार उनी साउन १ गते गोठमा घाँस हालेपछि घरबाट निस्किएका थिए। साउन २ गते कोटे क्षेत्रमा उनलाई देखिएको सूचना प्राप्त भएको थियो, तर त्यसयता कुनै सम्पर्क भएको छैन।
आफन्त, छिमेकी तथा सम्भावित स्थानमा खोजी गर्दा पनि भण्डारी फेला नपरेपछि परिवारले सामाजिक सञ्जालमार्फत सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। परिवारले खोजीको सूचना सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काले परिवार तथा प्रत्यक्षदर्शीसँग समन्वय गरेर खोजी कार्य जारी रहेको बताए। 'यमबहादुरलाई कतै देखेमा वा उहाँबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध गरेका छौं,' उनले भने। प्रहरीले विभिन्न कोणबाट सोधपुछ र खोजी गरिरहेको छ।






