काठमाडौँ — पद्मकन्या बहुमुखी क्याम्पसले स्नातक प्रथम वर्षमा अध्ययनरत एक हजार ३६४ विद्यार्थीको व्यक्तिगत विवरण सार्वजनिक हुने गरी प्रवेशपत्रको डाटा लिक गरेको छ। क्याम्पसको पेज र ग्रुपमा 'बीए, बीबीएस र बीएससी प्रथम वर्ष प्रवेशपत्र सम्बन्धी सूचना' भन्दै राखिएको क्यूआर कोड स्क्यान गर्दा विद्यार्थीका प्रवेशपत्रहरू खुला रूपमा भेटिएका हुन्।
प्रवेशपत्रमा विद्यार्थीको नाम, फोटो र शैक्षिक विवरण सबै राखिएका छन्। आफ्नो व्यक्तिगत जानकारी यसरी सार्वजनिक भएपछि विद्यार्थीहरू चिन्तित बनेका छन्।
विद्यार्थीहरूको गुनासो
डाटा लिकपछि एक छात्राले आफूले अध्ययन गरिरहेको कुरा परिवार र नजिककाहरूलाई नबताएको बताइन्। उमेरभन्दा ढिलो पढाइ सुरु गरेकाले लुकीछिपी कक्षा धाइरहेको र कलेजले सबै विवरण सार्वजनिक गर्दा आफू बर्बाद भएको उनको गुनासो छ।
बीए संकायकी अर्की छात्राले परीक्षाको नतिजा आएपछि आफ्नो गोपनीयता अरूले हेरिदिने चिन्ता व्यक्त गरिन्। रिजल्ट आउँदा सबैले नतिजा देख्ने र सबैको नतिजा राम्रो नहुने भन्दै क्याम्पसले संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ।
बीबीएस र बीएससीका विद्यार्थीहरूले पनि गोपनीयता कायम नगरिएको भन्दै आपत्ति जनाएका छन्। बीएससीकी एक छात्राले आफूहरूले कुन विषय पढेको र कहाँ पढेको सबै सार्वजनिक रूपमा राखिएको बताइन्।
कति विद्यार्थीको डाटा बाहिरियो ?
क्याम्पसको पेजमा संकाय अनुसार तीनवटा क्यूआर कोड राखिएको ग्राफिक्स फोटो पोस्ट गरिएको छ। ती क्यूआर कोड स्क्यान गर्दा एउटा साइट खुल्छ र 'वाच टु कन्टिन्यु'मा गएपछि प्रवेशपत्रको पीडीएफ देखिन्छ। पीडीएफ भएको ड्राइभमा विद्यार्थीका प्रवेशपत्र क्रमशः राखिएका छन्।
बाहिरिएको प्रवेशपत्रमा चार वर्षे स्नातक बीएका ५१७, बीएससीका ११६ र बीबीएसका ७६१ विद्यार्थीको विवरण छ। यी सबै स्नातक प्रथम वर्षमा अध्ययनरत छन्।
विद्यार्थीहरूलाई क्याम्पसले प्रवेशपत्र प्रिन्ट गरेर कलेजमा लगी आधिकारिक स्ट्याम्प लगाउन भनिएको छ। उनीहरूले यसो गर्नुपर्ने भएपछि किन डाटा सार्वजनिक गर्ने जोखिम लिइएको भन्दै प्रश्न उठाएका छन्।
क्याम्पस र त्रिवि नियन्त्रकको प्रतिक्रिया
चौथो वर्षमा अध्ययनरत एक छात्राका अनुसार क्याम्पसले यसरी प्रवेशपत्र पठाउने चलन नयाँ होइन। अघिल्ला वर्षमा पनि यस्तै गरिएको उनले सुनाइन्। प्रवेशपत्र लिएर कलेज पुग्दा प्रशासनले मास्क नै नखोली साइन गरिदिएको अनुभव उनले सुनाइन्। यसरी जो कोहीले पनि प्रवेशपत्र प्रिन्ट गरी फोटो परिवर्तन गरेर परीक्षा हलमा छिर्न सक्ने उनको भनाइ छ।
क्याम्पसकी प्रधानाध्यापक जयालक्ष्मी प्रधानले आफूहरूको उद्देश्य गलत नरहेको र विद्यार्थीलाई सहजताका लागि क्यूआर कोड राखिएको बताइन्। तर, डाटा र गोपनीयताको विषयमा थप सोचेर अर्को पटक फरक तरिकाले अगाडि बढ्ने उनले जानकारी दिइन्।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका नियन्त्रक लक्ष्मण पौडेलले यसरी विद्यार्थीको डाटा सार्वजनिक गर्नु ठीक नभएको बताए। यसबारे आफूले सम्बन्धित क्याम्पससँग बुझेर मात्र प्रतिक्रिया दिने उनको भनाइ छ।
