काठमाडौंमा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्यमीसँग लगानीमैत्री छलफल गरेलगत्तै विराटनगरमा प्रहरीले एक प्रतिष्ठित औद्योगिक घरानाकै घर र कार्यालयमा ठूलो अपरेसन चलाएको छ। सोमबार बिहान विराटनगर–७ गोश्वारा रोडस्थित देवेनरा समूहको घर र अफिसमा सयौं प्रहरी परिचालन गर्दै करिब पाँच घण्टासम्म खानतलासी भएको थियो। अपरेसनबाट कुनै शंकास्पद वस्तु नभेटिएपछि निजी क्षेत्रले राज्यले नियोजित रूपमा लगानीकर्तालाई त्रसित बनाउन खोजेको आरोप लगाएको छ।
प्रत्यक्षदर्शीका अनुसार अपरेसनका क्रममा प्रहरीले ड्रोन उडाएर घर परिसरको निगरानी गरेको थियो, साथै आसपासका बाटो सिल गरिएको थियो। बिहान साढे ४ बजे सुरु भएको कारबाही साढे ९ बजे रित्तो हात फर्किएपछि सकिएको थियो। छापामा संलग्न प्रहरीले गोप्रो क्यामेरा लगाएका थिए र काठमाडौंबाटै निर्देशन लिइरहेको स्रोतले बताएको छ।
रित्तो हात फर्कियो प्रहरी
विशेष सूचनाका आधारमा मुन्दडा परिवारको घर र कार्यालयमा छापा हालिएको मोरङका प्रहरी उपरीक्षक कवित कटवालले बताए। “घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, तर केही भेटिएन,” उनले भने। खानतलासीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी अपर्याप्त देखिएपछि अन्य इलाकाबाट टोली ल्याइएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालयबाट थप बल मगाइएको थियो।
निजी क्षेत्रको आक्रोश
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयेश प्याकुरेलले प्रधानमन्त्री र अर्थमन्त्रीले पटकपटक लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाइरहेका बेला प्रमाणविना व्यवसायीको घरमा यस्तो अपरेसन हुनु निन्दनीय भएको बताए। “एकातिर लगानी गर्न नडराउनू भन्ने सरकारको आग्रह छ, अर्कातिर आतंककारीविरुद्ध झैं शैलीमा व्यवसायीकै घरमा छापा मारिनुले सरकारको विश्वसनीयता सकिएको छ,” उनले भने। यसले प्रधानमन्त्री र अर्थमन्त्रीका प्रतिबद्धतामा कुनै विश्वास गर्नुपर्ने आधार नबाँकी रहेको उनको भनाइ छ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले बिहानै सडक ठप्प पारेर प्रहरी परिचालन गर्दा आतंककारी घटना भएको झैं त्रास फैलिएको बताए। अन्त्यमा प्रहरी रित्तो हात फर्किएकाले व्यवसायीको सामाजिक प्रतिष्ठामा ठूलो धक्का पुगेको उनको भनाइ छ। “तीन दशकदेखि विराटनगरको उद्योग व्यवसायमा सक्रिय रहँदा यस्तो शैलीको छापा देखेको थिइनँ,” उनले भने। राज्यले नै बिनाप्रमाण बेइज्जत गर्दा बजार र बैंकको विश्वासको जग भत्किने उनले चिन्ता व्यक्त गरे।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले राज्यविरुद्धका गतिविधिमाथि निगरानी राख्नु सरकारको कर्तव्य भए पनि सामाजिक उत्तरदायित्व बोकेका प्रतिष्ठित व्यवसायीमाथि ठोस आधारबिना छापा हाल्नु उपयुक्त नभएको बताए। यसले व्यवसायीको मनोबल मात्र गिराएको छैन, भोलि कोहीसँग खुलेर कुरा गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।
मुन्दडा परिवारको भनाइ
देवेनरा समूहका सदस्य तथा घरधनी वेणीगोपाल मुन्दडाले प्रहरीले पुर्जी देखाएर खानतलासीमा आएको र आफूहरूले सहयोग गरेको बताए। सबैतिर खोजतलास गर्दा केही नभेटेपछि प्रहरी फर्किएको उनले जानकारी दिए। त्यसैगरी, समूहका अर्का सदस्य प्रकाश मुन्दडाले प्रहरीले क्लिन चिट दिएर गएको बताए। उनी नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्षसमेत हुन्। उनले प्रमाणविना कुनै व्यवसायीको घर–कार्यालयमा छापा मार्न हुने नहुनेबारे राज्यले सोच्नुपर्ने समेत टिप्पणी गरे।
निजी क्षेत्रले यस्ता कारबाही भविष्यमा नदोहोरियोस् भन्ने माग गरेको छ। यसले लगानीको वातावरण झनै बिगार्ने र विदेशी लगानीकर्ताको विश्वाससमेत गुम्ने व्यवसायीहरूको तर्क छ।
