लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिरहेको इबोला प्रकोपका कारण ३३० जना बालबालिकाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्क्रमणबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्।
युनिसेफका अनुसार अगस्ट २ सम्ममा १७ वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरूमा सङ्क्रमणका ७४३ घटना पुष्टि भएका छन्, जसमध्ये ३३० जनाको मृत्यु भएको छ।
मृत्यु हुने प्रत्येक चार जनामध्ये एक जना बालबालिका रहेको र विशेषगरी पाँच वर्षमुनिका साना बच्चाहरू बढी प्रभावित भएको युनिसेफले जनाएको छ। यो प्रकोपले सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाहरू प्रवाहमा गम्भीर बाधा पुर्याइरहेको छ।
स्वास्थ्य सेवामा गम्भीर असर
प्रकोपले बाल्यकालको खोप, मातृ स्वास्थ्य सेवा र अन्य आवश्यक स्वास्थ्य सेवाहरूमा तीव्र गिरावट ल्याएको छ। सङ्क्रमणको डरका कारण मानिसहरू स्वास्थ्य सुविधामा पुग्न नसकेको र सेवामै अवरोध आएको युनिसेफको भनाइ छ।
युनिसेफका प्रतिनिधि जोन एग्बरले इबोला प्रकोपले सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर बाधा पुर्याइरहेको बताए। उनका अनुसार मलेरियालगायत अन्य उपचार गर्न सकिने रोगका कारण बालबालिकाहरूको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु भइरहेको छ।
महामारी अझै नियन्त्रणमा छैन
विश्वव्यापी मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले बुधबार पूर्वी डीआरसीको अवस्था पहिलेभन्दा झन् गम्भीर भएको चेतावनी दिएको छ। महामारी नियन्त्रण हुने कुनै सङ्केत नदेखिएको र यो चिन्ताजनक तथा अभूतपूर्व गतिमा फैलिरहेको एमएसएफको भनाइ छ।
मङ्गलबारसम्म डीआरसीले मे १५ मा प्रकोप घोषणा भएदेखि एक हजार ८०१ जनाको मृत्यु भएको र तीन हजार ९७३ सङ्क्रमणका घटना पुष्टि भएको रेकर्ड गरेको छ।






