कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालको उद्यमशीलता क्षेत्रलाई सुदृढ पार्न उद्यमी, लगानीकर्ता, वित्तीय संस्था, सरकारी निकाय र विकास साझेदारहरूलाई एकै मञ्चमा ल्याएको छ। सो अवसरमा कोइकाले बिहीबार काठमाडौंमा ‘के-कनेक्ट: प्रोमोटिङ दि एन्टरप्रेनरशिप इकोसिस्टम इन नेपाल’ कार्यक्रम आयोजना गरेको हो।
नेपालका लागि कोरियाली राजदूत पार्क ताए-योङ कार्यक्रमका प्रमुख अतिथि थिए भने युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नवराज ढकाल विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कोइकाले सहयोग गरेका तीन परियोजनाका लाभग्राही, सरकारी अधिकारी, लगानीकर्ता, वित्तीय संस्था, सल्लाहकार र विकास साझेदारहरूको सहभागिता थियो।
तीन परियोजनाका उपलब्धि
कार्यक्रममा कोइकाका तीन परियोजनाका बारेमा जानकारी दिइएको थियो। कोरिया फिर्ता आप्रवासी पुनःएकीकरण (के-हामी) परियोजनाअन्तर्गत १५ हजारभन्दा बढी फिर्ता आएका आप्रवासी कामदारहरूले प्राविधिक, पुनःएकीकरण र वित्तीय साक्षरता तालिम पाइसकेका छन्। तीमध्ये १९५ जनाले विशेष उद्यमशीलता तालिम लिएका छन्। दक्षिण कोरियाबाट फर्किने नेपाली कामदारलाई कर्जा उपलब्ध गराउन कोइकाले २.५ मिलियन अमेरिकी डलरको ब्याज अनुदान उपलब्ध गराइरहेको छ, जसबाट करिब ३०० फिर्ता कामदारले लाभ लिने अपेक्षा गरिएको छ।
जलवायुमैत्री कृषि (सिएसए) परियोजनाले तराईको बाढी मैदानी क्षेत्रमा १०९ जलवायुमैत्री कृषि व्यवसाय स्थापना गरेको छ भने उद्यमशीलता अनुदान र तालिममार्फत ५ हजार ३ सयभन्दा बढी लाभग्राहीलाई सहयोग पुर्याएको छ। परियोजनाले ३४३ हरित रोजगारी सिर्जना गरेको कोइकाले जनाएको छ। साथै, परियोजनाअन्तर्गत तराई कृषि व्यवसाय तथा उद्यम च्यालेन्ज कोषमा कोइकाले १.५ मिलियन अमेरिकी डलर उपलब्ध गराएको छ।
त्यस्तै, पोखरामा सञ्चालित रिसाइक्लिङ तथा अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयु) परियोजनाले ११५ रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यमहरूको विकासमा सहयोग पुर्याएको छ। उक्त परियोजनाअन्तर्गत करिब ११ हजार घरपरिवारलाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ भने १ हजार ३ सयभन्दा बढी व्यक्तिले उद्यमशीलता तालिम पाएका छन्।
लगानी र साझेदारीको प्रतिबद्धता
कार्यक्रममा बोल्दै राजदूत पार्क ताए-योङले दक्षिण कोरियाको विकास जनशक्तिमा गरिएको लगानी, सबल संस्थागत संरचना र नवप्रवर्तन, उद्यमशीलता तथा निजी क्षेत्रको वृद्धिका अवसरहरूमार्फत भएको बताए।
कार्यक्रममा लाभग्राहीहरूको सफलताका कथा प्रस्तुत गरिएको थियो भने उद्यमी र सम्भावित लगानीकर्ताबीच व्यवसाय प्रस्तुतीकरण सेसन तथा एकल-एकल परामर्शको व्यवस्था गरिएको थियो।
कोइकाका अनुसार सन् १९९१ यता नेपालमा २३५ मिलियन अमेरिकी डलर विकास सहायता उपलब्ध गराइएको छ। उक्त सहायता स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन क्षेत्रमा खर्च हुँदै आएको छ।






