५० वर्ष नाघेका एक व्यक्तिले उमेर र आफ्नै सीमालाई चुनौती दिँदै गरेको सगरमाथा आरोहणको यात्रामा आधारित वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फस्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक भएको छ। निर्माण पक्षका अनुसार यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्नेछ।
उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउने व्यक्तिको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले उतारेको निर्माण पक्षले बताएको छ। हिमालको भव्यतासँगै आरोहणका जोखिम, शेर्पा समुदायको योगदान र मानव साहसलाई पनि वृत्तचित्रमा देखाइएको छ।
वृत्तचित्रमा के छ?
वृत्तचित्रले सगरमाथाको सौन्दर्य र आरोहणका क्रममा आउने जोखिमलाई मात्र नभई शेर्पा समुदायको अथक परिश्रम र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पुर्याएको प्रभावलाई समेत गहिराइसाथ उजागर गरेको छ। यसले सगरमाथालाई केवल हिमालको रूपमा नभई साहस र अठोटको प्रतीकका रूपमा व्याख्या गर्ने प्रयास गरेको बताइएको छ।
निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको ‘रोड टु एभरेस्ट’मा किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्। साथै विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा रहनेछन्।
प्रिमियर र निर्माण पक्षको दाबी
निर्माण टिमका अनुसार ‘रोड टु एभरेस्ट’को पहिलो नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा हुनेछ भने अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङबाट सुरु हुनेछ। त्यसपछि वृत्तचित्रलाई नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्च र सिनेमा हलमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ।
वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। कुनै पनि कृत्रिम दृश्य नराखी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो पहिलो डकुमेन्ट्री भएको निर्माण पक्षको दाबी छ। वृत्तचित्रको अवधि ५० मिनेट रहेको बताइएको छ।


