काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत अभियानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
विपद्को समयमा रसुवालगायत बाढीबाट प्रभावित जिल्लामा खोज, उद्धार र राहतको कार्यक्रम राज्यले अपेक्षित रूपमा सञ्चालन गर्न नसकेको उनको दाबी छ । बाढीका कारण फसेका तथा सम्पर्कविहीन भएका नागरिकको उद्धारलाई सरकारले प्राथमिकतामा नराखेको उनले आरोप लगाए ।
हाकुबेसी सुरुङमा पर्याप्त परिचालन नभएको आरोप
रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त संख्यामा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको प्रमुख सचेतक राईले जनाएका छन् । सुरुङमा पार्टी अध्यक्षसहितको टोली उद्धारमा खटिएको जानकारी उनले सदनमा दिए ।
उक्त सुरुङमा करिब तीन सय जना बेपत्ता भएको तर उद्धारमा जम्मा २० जना मात्र खटाइएको भन्दै उनले सरकारसँग जवाफ माग गरेका छन् । यो संख्या पर्याप्त नभएको उनको भनाइ छ ।
चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारी आफूलाई प्राप्त भएको उनले बताएका छन् ।
सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने अवस्थामा रहेका आम नागरिकको समेत अकालमै ज्यान गएको प्रमुख सचेतक राईको आरोप छ । बाँच्न तथा बचाउन सकिने धेरै नागरिकको जीवन जोगाउन सकिने भए पनि राज्य पक्षको ढिलासुस्तीले त्यसो हुन नसकेको उनले सदनमा बताए ।







