कीर्तिपुरस्थित टीयू मैदानमा शुक्रबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा चितवन राइनोजका स्पिनरहरूले लगातार दबाब कायम राख्दा जनकपुर बोल्ट्स ८८ रनमा अलआउट भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर मात्र ८८ रन बनाउन सक्यो।
जनकपुरले गुमाएका ९ विकेटमध्ये ७ स्पिनरको नाममा रहे। नयाँ बल सम्हालेका रन्जित कुमारले पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दै ३ विकेट लिए, जसमा एक मेडन ओभर पनि थियो र खर्च भएको जम्मा २ रनमात्र। कप्तान सिकन्दर राजाले ४ ओभरमा दुई मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए।
त्यसपछि कमिल मिसारले लोअर अर्डरमा विशाल सुशलिङ र जिमी निशमको विकेट लिए। उनले २ ओभरमा १८ रन खर्चे। चितवनका मिडियम पेसरले ७ ओभर बलिङ गर्दा कमल सिंह ऐरी र रिजन ढकालले एक–एक विकेट मात्र लिन सके। कमलले ४ ओभरमा २५ र रिजनले ३ ओभरमा १० रन खर्चिए।
कप्तानको संयमित पारी पनि अपुग
जनकपुरको इनिङ्स सुरुवातैदेखि अस्थिर रह्यो। ओपनर तृतराज दास दोस्रो ओभरमा ५ रन बनाएर पहिलो विकेटका रूपमा फर्किए, त्यसपछि टोलीले नियमित अन्तरालमा विकेट गुमाइरह्यो। ओपनर सन्तोष कार्की १०, रायन बर्ल ६ र हेरी टेक्टर शून्य रनमा आउट भए।
सातौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान हर्मित सिंहले २४ बल खेल्दै २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन जोडे। उनीबाहेक अन्य ब्याटरले खासै टिक्न सकेनन्। विशाल सुशलिङले १३ बलमा एक चौका र एक छक्कासहित १५ रन बनाए भने आदित्य महतले २५ बल खेर ४ रन मात्र जोडे। अभिषेक तिवारी पनि ४ रनमै फर्किए।
जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी पाँचौं विकेटका लागि विशाल सुशलिङ र आदित्य महतले गरेको १८ रनको साझेदारी नै बन्यो। अन्तिमतिर राहुल यादवले १० बल खेल्दै अन्तिम बलमा छक्का प्रहार गरी १० रनमा अविजित रहे, ललित राजवंशी २ रनमा नटआउट रहे। यसअघि जिमी निशमले ८ बल खेल्दा खाता समेत खोल्न सकेनन्।







