मुख्य सामग्रीमा जानुहोस्

च्याउ खोज्न जाँदा शुक्लाफाँटामा हराएका १७ महिला २६ घण्टापछि सकुशल घर फर्किए

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ र निगुरो टिप्न गएका १७ महिला २६ घण्टापछि घर फर्किएका छन्। उनीहरूले जंगली जनावरको डरले रातभरि निद्रा नलागेको बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ र निगुरो खोज्न गएका १७ महिला २६ घण्टापछि सकुशल घर फर्किएका छन्। आइतबार दिउँसो घरबाट निस्किएका उनीहरू सोमबार दिउँसो मात्र घर पुगेका हुन्।

भीमदत्त नगरपालिका–१९ बागफाँटा निवासी सुक्नीदेवी चौधरी, उनकी छोरी सुनिता, बुहारी लक्ष्मी र गाउँका अन्य १४ महिला आइतबार करिब साढे ११ बजे च्याउ टिप्न निकुञ्जभित्र पसेका थिए। च्याउ खोज्दै जाँदा उनीहरू घना जंगलमा पुगे र साँझ परेपछि बाटो भुल्न पुगे।

बिहानदेखि वर्षा भइरहेकाले घाम नलाग्दा उनीहरूले साँझ परेको पत्तै पाएनन्। अँध्यारो हुन थालेपछि घर फर्किने बाटो नभेटेपछि उनीहरूले रुखको फेदमा बसेर रात काट्ने निर्णय गरे। सुक्नीदेवीले भनिन्, “एउटा ठूलो रुखको फेदीमा सबैजना घेरा लगाएर बस्यौं। राति एकातिर पानी परिरहेको थियो, अर्कोतिर सर्प र जंगली जनावरको डरैडरमा रात बितायौं।”

उनका अनुसार रातभरि नजिकै हात्तीको आवाज सुनिएको थियो। तीनपटक जंगली हात्तीको बथानसँग जम्काभेट भए पनि हात्तीले देखेनन्। रुखको पात खस्दा पनि डरले आङ जिरिंग भइरहेको उनले बताइन्।

सोमबार बिहान उज्यालो भएपछि उनीहरूले बाटो खोज्न थाले। करिब दुई–तीन घण्टा हिँडेपछि गाडी चलेको आवाज सुनियो। त्यही आवाजको दिशा पछ्याउँदै उनीहरू मुख्य बाटोमा आइपुगे। घर पुग्न थप तीन–चार घण्टा लागेको लक्ष्मीले बताइन्।

यसैबीच, खोजीका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी र हात्तीसहित ड्रोनसमेत परिचालन गरिएको थियो। तर उनीहरू आफैं बाटो पहिल्याउँदै घर आइपुगे। उद्धार टोलीले भेट्न सकेको थिएन।

अर्को घटनामा, बेलडाडी गाउँपालिका–२ का तीन महिला च्याउ टिप्न गएर रातभरि रुखमा बसे। बिहान प्रहरीलाई फोन गरेपछि उनीहरूको उद्धार गरिएको एसपी नेत्रमणि गिरीले बताए।

शुक्लाफाँटा निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बर्खामा स्थानीय च्याउ र निगुरो टिप्न जंगल पस्ने गरेको र यसले जोखिम निम्त्याएको बताए। उनले आफैं सचेत हुन आग्रह गरे।