काभ्रेपलाञ्चोक धुलिखेलकी ६३ वर्षीया डा. सम्झना ढकालका एक मात्र छोरा विगत केही वर्षदेखि स्कटल्यान्डमा बस्दै आएका छन् । तर भौगोलिक दूरीले उनको दैनिकीलाई खासै प्रभाव पारेको छैन। उनी प्रविधिकै सहारामा छोरा–बुहारी र नातिनातिनासँग नियमित सम्पर्कमा रहन्छिन्।
डा. ढकालका अनुसार हरेक दिन बिहान–साँझ भिडियो कल हुन्छ, म्यासेज आदानप्रदान हुन्छ। आमा र छोरा–परिवारबीच एकअर्काको दैनिक गतिविधिको जानकारी ताजै रहन्छ। ‘अहिले प्रविधिले संसारलाई सानो बनाइदिएको छ, त्यसैले खासै गाह्रो भएको छैन,’ उनले भनिन्।
चाडपर्वको समयमा भने उनीहरू एकअर्काको नजिक पुग्ने गर्छन् । कहिले डा. ढकाल आफैँ स्कटल्यान्ड पुगेर दसैं–तिहार मनाउँछिन्, कहिले छोरा–परिवार वर्षमा एकपटक नेपाल आउँछन् । ‘यो त भौतिक दूरी मात्र हो, सम्बन्धमा कहिल्यै दूरीको अनुभव भएको छैन,’ उनले थपिन्।
